पिसिआर ल्याब स्थापना गर्न अन्तर्राष्ट्रिय झापाली समाजको पहल : साथ दिने मन्त्री कार्कीको प्रतिबद्धता

काठमाण्डौ
कोरोना भाइरसले निम्त्याएको महामारी सँगै यसको परिक्षणमा व्यापकता ल्याउने उद्धेश्यका साथ झापामा जनस्तरबाट पिसिआर मेसिन खरिद अभियान सुरु भएको छ ।

यसै बिषयमा अन्तर्राष्ट्रिय झापाली समाजले आयोजना गरेकोे भर्चुअल बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ल्याब स्थापना गर्न झापामा शुरु गरिएको एकका लागि एक अभियानमा आफ्नो पुर्ण रुपमा साथ रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यो समयमा सबै मिलेर अघि बढ्ने समय रहेको भन्दै उनले जनताले सुरु गरेको यस अभियानमा केही सहयोग आफ्नो आवश्यक रहेमा जानकारी गराउन समेत आग्रह गरे । आफ्नो तर्फबाट गर्नुपर्ने सबै पहलकदमी आफुले गर्ने उनको भनाइ छ ।

प्रदेश १ मा कम्तिमा पाँचवटा ल्याब हुनुपर्नेमा हाल तीनवटा मात्र रहेको जानकारी दिदै उनले स्थापना भइसकेको ल्याब तुरुन्त सञ्चालनमा ल्याउन आवश्यक भएको पनि वताए ।
अभियानले कनकाईको कोटिहोमस्थित समर्पण भवनमा ल्याब स्थापना गरेर सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइको नाममा झापामा मेची अस्पताललाई मात्र ल्याब सञ्चालनको स्वीकृति दिने भनेको छ । यसै प्रसँगमा मन्त्री कार्कीले जनस्तरवाट सञ्चालनमा आउन लागेको यो ल्याब कुनै हालतमा नरोकिने स्पष्ट पारे ।

बैठकमा संघीय सांसद एलपी साँवा, राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालगायत झापाली राजनीतिज्ञ सहभागी थिए । उक्त अभियानमा हालसम्म १ करोड ७० लाख बराबर रकम संकलन भएको छ ।

बैठकमा समाजका संरक्षक दिनेश पोखरेल, समाजका बरिष्ठ उपाध्यक्ष दिपक खनाल,उपाध्यक्ष दिपक चुडाल, ओसियानिया सहसंयोजक अजय राजबंशी, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष उमेश पोखरेल सहित समाजका पदाधिकारी तथा सदस्यहरु तथा सल्लाहकारहरु, राष्ट्रिय समितिका सदस्यहरु, अभियानका सदस्यहरु तथा पत्रकारको सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष दिपक ओलीको सञ्चालन तथा महासचिव खेमराज जम्मरकट्टेलले सहजीकराण गरेका थिए ।