तक्दीर अधिकारी, साउथ अष्ट्रेलिया
सामाजिक संस्था ओ.एन. यु. एफ को आयोजनामा साउथ अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाइ लक्षित गरि बिभिन्न सीपमुलक तालिमहरु प्रदान गरिएको छ । विशेष गरी अष्ट्रेलियामा अध्ययनको शिलशिलामा आएका विद्यार्थीहरुलाइ उनीहरुको रोजगारीमा समस्या नहोस भन्नको निम्ती बिभिन्न चरणमा तालिमहरु प्रदान गरिएको हो ।
कोरोना भाइरस महामारीको कारण धेरै जनाले रोजगारी गुमाएको र अब बजार खुलेसँगै उनीहरुलाइ रोजगार हुनको निम्ती सजिलो बनाउने उद्धेश्यले सो तालिमहरु दिइएको संस्थाका अध्यक्ष हेम खनालले जानकारी दिए । खनालका अनुसार बरिष्ठा कफी मेकिँग, क्लिनीँग, ह्वाइट कार्ड तथा अनलाइनमा आरएसी लगायतका तालिम प्रदान गरिएको छ । हालै मात्र निर्माण स्थलमा आवश्यक पर्ने सीप मध्येको ह्वाइट कार्ड तालिम प्रदान गरिएको हो । उक्त तालिममा सहभागी हुनको निम्ती ८८ जनाले आवेदन दिएका थिए भने विहिबार २५ जनाले तालिम लिएका छन् ।
हालसम्म १३० जना नेपाली विद्यार्थीहरुलाइ बिभिन्न शिर्षकका सीपमुल तालिम प्रदान गरिएको खनालले जानकारी दिए । ‘महामारीको कारण धेरै विद्यार्थीले राजगारी गुमाएका छन, उनीहरुलाइ सजिलो होस भन्नको निम्ती तालिम दिइएको हो’ उनले भने ‘यसमा विशेष गरी भर्खरै आएका विद्यार्थीहरुलाइ बढी फोकस गरेका छौँ, साथै रोजगारी गुमाएकाहरुलाइ पनि तालिम दियौँ’ । उनले अष्टेलियाको बजारमा भएका विभिन्न प्रविधिहरु जुन नेपाली विद्यार्थीहरुले नजानेका हुन सक्छन, ती प्रविधिहरुको बारेमा पनि ज्ञान दिइएको बताए ।
महामारी यताको २ महिनाको अवधिमा करिब डेढ सय विद्यार्थीहरुलाइ तालिम दिइएको हो । यो सँगै बजार खुलेपछि विद्यार्थीहरुलाइ जागीर पाउन सजिलो हुने विश्वास आयोजकले लिएको छ । साउथ अष्ट्रेलिया स्थित ओ.एन. यु. एफ मा रहेको रकम साथै यस संस्थाका मेम्बरहरु मार्फत आर्थिक संकलन गरि तालिम प्रदान गरिएको हो । तालिममा करिब ८ हजार डलर खर्च भएको छ । तालिम लिएका विद्यार्थीहरुले संस्थाले गरेको यो कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
अध्यक्ष खनालले आगामी दिनमा पनि विद्यार्थीहरु मात्र नभएर समस्यामा रहेको अन्य महानुभावहरुलाइ पनि साथ दिने खालका कार्यक्रम गर्ने जानकारी दिए ।






