काठमाडौं । जीवनमा एक पटक समयले सबैलाई साथ दिन्छ भन्ने भनाइ समाजमा हिजोआज पनि कायमै छ । फोहरको डंगुरमा जीवन खोजिरहेकी एक बालिकाको सेल्फीले भाग्य चम्काइदेला भन्ने कसले सोचेको थियो होला र ? तर यस्तै भएको छ साउदी अरबमा ।साउदी अरबको जेहाद्दमा केही दिन अघि एक युवकले बालिकाले फोहर टिप्दै गरेको पृष्ठभूमी भएको सेल्फी ट्विटरमा पोष्ट गरेपछि ती बालिकाको भाग्य खुलेको हो। सामाजिक सञ्जालमा उक्त सेल्फी पोष्ट गरेपछि ती युवाको कडा आलोचना पनि भएको छ । यो सेल्फीले विवादको रुपमा पनि लिएको छ।गल्फ न्यूजका अनुसार सेल्फीमा बालिकाले चर्चित साउदी फुटबल क्लव अल इत्तिहादको जर्सी लगाएकी छिन् । क्लवको जर्सीमा बालिका देखेपछि क्लवका समर्थकहरुले विरोध जनाएका छन् । यद्यपी आलोचना र विवादकाबीच यही सेल्फीका कारण बालिका प्रति सहानुभूति पैदा गरिदियो । बालिकासँग सेल्फी लिएर पोष्ट गर्ने ती युवाले माफी माग्दै बालिकालाई उपहार दिएका छन् । ती बालिकालाई सहयोग गर्नेहरु बढ्दै गएका छन्।
अल इत्तिहाद फ्यान क्लवले मात्रै एक लाख ३६ हजार नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् भने फुटबल म्याचको टिकटबाट प्रत्येक महिना उठ्ने रकम समेत ति बालिकालाई दिइने भएको छ ।






