आमाले आगो लगाउँदा अठार महिने छोराको मृत्यु

सप्तरी, २९ चैत । सप्तरीको राजविराज नगरपालिका–५ मा आज साँझ आफ्नै आमाले आगो लगाउँदा एक बालकको जलेर मृत्यु भएको छ भने आमा पनि गम्भीर घाइते भएकी छिन् । राजविराज–५ की शकुन्तालादेवी साहले आफ्नै १८ महिनाको छोरालाई साथै लिएर घरभित्र आफ्नो जिउँमा आफैँले मट्टितेल छर्केर आगो लगाउँदा छोराको मृत्यु भएको हो ।
घरभित्रबाट एक्कासी धुँवा निस्केपछि गाउँलेले देखेर घरको ढोका खोल्दा आमा छोरा जलिरहेको अवस्थामा फेला पारेका थिए । आगोले जलेर गम्भीर घाइते भएको बालकको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताउनुभयो । गम्भीर घाइते शकुन्तला देवीलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।