अब रोजगारीमा कतार जान पैसा नलाग्ने

काठमाडौं,चैत २५ – नेपाल र कतारले नेपाली कामदारलाई शून्य खर्चमा रोजगारमा लगाउने समझदारी गरेका छन् । दुई देशका श्रममन्त्रीबीच भएको समझदारी दुई साताभित्र कार्यान्वयनमा आउनेछ ।

quatar

कतारका श्रममन्त्री डा. अब्दुल्लाह बिन सालिह अन खुलाइफीको नेपाल भ्रमणको अन्तिम दिन मंगलबार यस्तो समझदारी भएको हो । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका अनुसार कतारी श्रम राज्यमन्त्रीले त्यहाँका बिचौलियालाई एक हप्ताभित्रैमा कारबाही गरिने प्रतिवद्दता जनाएका छन् ।

‘नेपालका तर्फबाट पनि कतारका रोजगारदाताका बिचौलियालाई कमिसन दिने म्यानपावर कम्पनीको सूची पठाउन उहाँले आग्रह गर्नुभएको छ,’ श्रम राज्यमन्त्री गुरुङले भने,‘हामी कतारको रोजगारदातालाई अस्वस्थ ढंगले कमिसन बुझाउने १० वटा म्यानपावर कम्पनीको सूची निर्माणमा गृहकार्य गरिरहेका छौं ।’ गैरकानुनी धन्दा गर्ने म्यानपावर एजेन्सीको सूची निर्माण गरेपछि दुवैतर्फका उच्च अधिकारीको रोहबरमा कालोसूची निर्माण गर्ने समझदारी पनि भएको छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।