भाइरल बन्यो सिड्नीकी पवित्राको बहादुरी

सिड्नी । सिड्नीको अर्वनमा सोमबार साँझ एक नेपाली युवतीले लुटेरालाई चक्कुले लखेटेको समाचारले यतिबेला भाइरल बनेको छ । साँझ ७ बजेतिर पसल लुट्न मुख छोपेर आएका एक लुटेरालाई उनले पसलमा बक्स खोल्न प्रयोग हुने तरकारी काट्ने चक्कु देखाएर लखेटेकी थिइन् ।

रौटहट चन्द्रनिगाहपुरकी स्थायी बासिन्दा पवित्रा कार्कीले लुटेर लखेटेकी हुन् । लुटेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्न थाल्यो, सुरुमा उनी छक्क परिन् । त्यसपछि लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो ।

क्यास काउन्टरमा उनले हात हाल्न दिइनन् । त्यत्तिकैमा दुईजनाबीच हात हालाहाल हुँदा पवित्राले छेउमा रहेको सानो तरकारी काट्ने चक्कु भेटिन् । पवित्राले चक्कु समातेपछि लुटेरा हच्कियो, उनले चक्कु लिएर लखेट्न थालिन् । लुटेरा कहाँ गयो, उनलाई पत्तो भएन ।

‘पसल बन्द गर्ने बेलामा दिदीलाई कुरेर बसेका बेला घटना भयो, पवित्राले भनिन्, ‘पसलमा तरकारीको बक्स काट्न प्रयोग हुने चक्कु काउन्टर छेउमै रैछ, लुटेराले पैसामा हात हाल्न लागेपछि मलाई कसरी आँट आयो खोइ, चक्कु लिएर जाइलागेँ ।’

सोमबारको यो घटनापछि स्थानीय प्रहरी आएर उनको व्यक्तिगत रिपोर्ट तथा सिसिटिभी फुटेज लगिसकेको छ । स्थानीय अष्ट्रेलियन टिभी च्यानलले समेत पवित्राको बहादुरीको गाथा प्रशारण गरिसकेको छ । चाइल्ड केयर अध्ययन गरिरहेकी पवित्राको यो बहादुरी साँच्चिकै उदाहरणीय रहेको अस्ट्रेलियाको नेपाली समाजमा चर्चा गरिएको छ ।

तीन वर्षअघि अष्ट्रेलियामा आइपुगेकी पवित्रा दिदीसँग अर्वनमा बसोबास गर्दै आएकी छिन् । अर्वनमा रहेको क्याटमान्डु मिक्स बिजनेस नामक सो स्टोरमा घटना भएको हो ।

सिड्नीको ओवन नेपाली विद्यार्थीका लागि रोजिएको क्षेत्र हो । किनभने नेपालीहरुले प्रयोग हुने राशन, ग्रोसरी सामाग्री सर्वसुलभ पाइन्छ । विद्यार्थी बसोबासका लागि ओवन क्षेत्र सुलभ मात्र मानिदैन,  अरु क्षेत्रमा भन्दा सस्तो पनि छ । त्यसैले ओबन क्षेत्र विद्यार्थीका लागि लोकप्रिय मानिन्छ । विशेषत  एसियाको मध्यपूर्वका नागरिक बढी बसोबास गर्ने भएकाले जोखिम भएको बताइन्छ । गत दुई बर्ष देखी स्थानीय क्षेत्रमा बसोबास गर्दै आएका रोशन खतिवडाका अनुसार पहिलेभन्दा उक्त क्षेत्र निक्कै नै सुरक्षामा सुधार आएको तर, अन्यभन्दा ओबनलाई जोखिमपूर्ण नै मानिन्छ ।

नेपालीले लुटेरा लखेटेको घटना यो पहिलो होइन, यसभन्दा अघि सन् २००९ मा आइजिए मा काम गर्ने एक नेपालीले सशस्त्र लुटेरा समूहलाई धपाएका थिए । उनी स्थानीय प्रहरीबाट पुरस्कृतसमेत भएका थिए ।