शिब भण्डारी
लन्डन । पर्वत जिल्लाको कुस्मा नगरपालिकाको वडा नम्बर ३ दुर्लुङ काउलेमा गत शनिबार पहिरोमा परी निधन भएका परिवारलाई तमु धि लन्डनले सहयोग उपलब्ध गराएको छ । घरवास गुमाएका परिवारलाई तमु धि लन्डन इकाइले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । पहिरोमा परी दुई घरको ८ जनाको मृत्यु भएको थियो ।
तमु धि लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भिडियो कन्फ्रेन्समार्फत् शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्राकृतिक बिपत्तिमा परी ज्यान र घरबास गुमाएका पीडित परिवारहरुलाई राहत स्वरूप एक लाख रुपैयाँ हस्तान्तरण गरिएको बताए ।
संस्थाका महासचिब भारत गुरुङले तमु धि लन्डन इकाइले समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएको लन्डन नेपाल न्यूजसँगको टेलिफोनमा बताए । उनले भने हरेक नेपालीको समस्यामा सानो भए पनि तमु धि लन्डन इकाइले सहयोग उपलब्ध गराउँदै आएको छ ।
समाजका पूर्वअध्यक्ष डेभिड गुरुङले पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तमु धि लन्डनले सहयोग उपलब्ध गराएको बताए । नेपालीहरुको समस्यामा जहिले साथ दिन तमु धि लन्डन इकाइ जहिले तत्पर रहेको उनले बताए ।
यस्तै संस्थाका सक्रिय सदस्य रक गुरुङले भने पर्वतको दुर्लुङ काउलेमा पहिरोले दुई परिवारका ८ जनाले ज्यान गुमाए । यो दुःखद घडीमा तमु धि लन्डन इकाइले थोरै भए पनि सहयोग उपलब्ध गराएको छ ।






