नयाँ दिल्ली । भारत र चीनबीच लद्दाख सीमा क्षेत्रमा युद्ध सुरु भएको छ । सोमवार राती सुरु भएको युद्धमा भारतीय सेनाका कर्णेलसहित ३ सैनिक मारिएका छन् भने चीनतर्फ पनि केही सेना मारिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।
सन् १९७५ पछि पहिलो पटक दुई देशका सेनाबीच भिडन्त भएको हो । करिव डेढ महिना अघिदेखि लद्दाख क्षेत्रमा दुई देशका सैनिकबीच सीमा विवादमा रहदै आएको थियो । भारतले सीमा क्षेत्रमा सडक निर्माणको काम अगाडी बढाएपछि चीनले सैनिक बल थप गरेको थियो । न्यूज एजेन्सी एनएनआईका अनुसार सोमवार रात लद्दाखको गलवान घाटीमा भारत र चिनियाँ सैनिकबीच झड़प भएको थियो । अहिले त्यस क्षेत्रका सैनिक कमाण्डबीच वार्ता चलिरहेको छ ।
भारतीय सेना अध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले मंगलवार गर्ने भनिएको भ्रमण रद्द भएको छ । भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर चीनको विदेश मन्त्रालयले प्रतिक्रिया सार्वजनिक गरेको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको बताएको छ । दुई देशबीच वार्ताको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यू भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । चीनतर्फ कस्तो क्षति भयो भन्ने कुनै कुरा उल्लेख गरेको छैन उसले ।
‘भारतीय सैनिकहरुले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनिया सैनिकमाथि उत्तेजक हमला गरेको उसको दावी छ । समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकहरुलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ । यता भारतीय रक्षा मन्त्री राजनाथ सिंहले आज बिहानै तीनै जना सैनिक नेतृत्वसँग लद्दाखको स्थितिका बारमा छलफल गरेका थिए ।






