बेलायतका गुल्मेलीले दिए दुर्गममा एम्बुलेन्स:(फोटो फिचर)

गगनशिला खड्का
गुल्मी २० फाल्गुण । गुल्मीको फोक्सीङ्ग गाविसकी कला राना सामान्य विरामी पर्दा उपचार गर्न सक्दा हिडेरै स्वास्थ्य संस्था पुग्थिन् । तर गम्भीर रुपमा विरामी हुदाँ भने उनी घरमै सुत्थिन् । उनले भनिन ः“ सञ्चो नहुदाँ त कसरी उपचार गर्न जानु र नानी ?,सके हिडेर जाने,नसके घरमै सुत्ने ।”
गुल्मीको सदरुकाम तम्घासवाट धेरै टाढा रहेको उक्त गाविसका उनी मात्रै होइन सबै विरामीको अवस्था उस्तै थियो । राज्यले स्वास्थ्य क्षेत्रमा बर्षेनी करौडौँ रकम खर्चे पनि फोक्सीङ्ग गाविसका राना जस्तै विरामीका लागि त्यसले कुनै प्रभाव पारेन । गुल्मीको क्षेत्र नं १ का स्थानियहरु एउटा एम्बुलेन्स नहुदाँ विरामी पर्दा घरमै सुत्न बाध्य भएपछि गुल्मी जिल्ला समाज युकेले सो क्षेत्रका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ । भनिन्छ ः“ एउटा सन्तानले आमाको लागि केही उपहार दिन सक्दैन भने त्यो असल सन्तान नै हुुन सक्दैन ।”

gadi

यही भनाईलाई चरितार्थ सावित गर्दै गुल्मी जिल्लाको माटोले जन्माएका तर विदेशी भुमिमा रहेको बेलायतका गुल्मेलीहरुले मातृभुमीको लागि आफ्नो उपहार पस्किएका हुन् । गुल्मी जिल्ला समाज युकेले जिल्लामा विगत केही बर्षदेखी नै स्वास्थ्य,शिक्षा,सञ्चार र खेलकुदको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । गुल्मी जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा समाजले एम्बुलेन्स पु¥याएको हो । गुल्मी जिल्ला समाज युकेको एम्बुलेन्स हस्तान्तरण समारोहमा सहभागी फोक्सीङ्ग गाविसकी विष्णु सापकोटाको अनुहार हसिलो र उज्यालो थियो । उनको अनुहारमा खुसी छर्लङ्ग देख्न सकिन्थ्यो । 

सधै विरामी पर्दा निजी सवारी साधनको मुख ताक्नुपर्ने सापकोटालाई आफ्नै गाउँको लागि आएको एम्बुलेन्स र अतिथिहरुको स्वागत गर्न भ्याई— नभ्याई थियो । उनी हतारीदैँ एम्बुलेन्सलाई अविर र मालाले सजाउँदैँ थिईन् । यत्तिकैमा उनले भनिन् ः“ यो त सपना हो,जुन सपना आज पुरा भएको छ ।” सापकोटाले थपिन् ः“ विरामी हुदाँ गाडी खोज्दा यति हैरान प¥थ्यौँ कि,कहिले त उनीहरुलाई कुर्दा कुर्दा दिन नै वितेका छन् ।”
फोक्सीङ्ग उच्च माविकी प्रधनाध्यापक मिना रानाले राज्यले गर्न नसकेको काम बेलायतमा बस्ने गुल्मेलीहरुले गरेर देखाइदिएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन् ः“ काम यस्तो हुनुपर्छ,जहाँ बस्ने गुल्मेलीहरुको एकताले मात्र सम्भव भएको देख्दा म सारै खुसी छु । ” उनले गुल्मी जिल्ला समाज युकेले राज्यको आँखा पुग्न नसकेको ठाउँ र क्षेत्रमा सहयोग गरी जन्मभुमी प्रतिको ऋण तिरेको बताईन् । उनले भनिन् ः“ यस्ता धेरै दुर्गम गाविस छन्,त्यस्ता ठाउँमा समाजले काम गरेको रैछ, बल्ल माटोको रिन तिर्नुभयो ।” गुल्मी जिल्ला समाज युकेले यो सहित जिल्लामा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

यसअघि जोहाङ्ग खैरेनी,धुर्कोट क्षेत्र र आशा अपाङ्ग केन्द्र गुल्मीलाई हस्तान्तरण गरेको समाजले चौथो एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी फोक्सीङ्ग उपशाखालाई हस्तान्तरण गरेको हो । एम्बुलेन्स संगै त्यसको चाँबी सोही कार्यक्रमका लागि बेलायत बाट गुल्मी आईपुगेका गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष विनोद ज्ञावली,महासचिव राम गलामी र एम्बुलेन्स संयोजक मोति पुनले गुल्मी क्षेत्र नं १ का सभाषद कृष्ण बहादुर छन्तेल संगै संयुक्त रुपमा हस्तान्तरण गरे ।
कार्यmक्रममा बोल्दै एम्बुलेन्स संयोजक मोती पुनले बेलायतमा बस्ने गुल्मेलीहरुको खुल्ला हृदयका कारण सहयोग संकलन गर्न सहज भएको बताए । उनले भने ः“ दिल फकाएर उहाँहरुले सहयोग नगरेको भए,ग्राहो हुन्थ्यो ।”
गुल्मी जिल्ला समाज युकेका महासचिव राम गलामीले सबै गुल्मेलीहरुको एकताले गर्दा नै समाजले सोचे जस्तो ठाउँमा काम गर्न सकेको बताए । समाजका उपाध्यक्ष विनोद ज्ञावलीले आफलाई विदेशमा बसेपछि मातृभुमिको मायाँले पोल्ने बताए । उनले देशको राजनितिक अवस्था र नेताहरुको गैरजिम्मेवार प्रवृतिका कारण जनताहरुले दुख पाएको बताए । ज्ञावलीले मन नहुदा नहुदै पनि नेपालीहरु विदेशिन बाध्य भएको तितो यथार्थ प्रस्तुत गदै्र्र माटोको मायाँले कुनै दिन सबै नेपाली गाउँकै पाखा पखेरामा फर्किने बताए । उनले भने ः“ यदी तपाईको घर नजिकैको कसैले जग्गा विक्री गरेर अन्त जान खोज्दैँ छ भने कृपया तपाई उसको जग्गा नकिनिदिनुस,तव मात्र उ फर्कन्छ ।”
गुल्मी जिल्ला समाज युकेका सबै पदाधिकारी र सदस्यहरुको क्रियाशिलता र मेहनतले आफु जन्मेको जिल्लाको लागि योगदान गर्न पाएको भन्दै ज्ञावलीले एम्बुलेन्स कार्यक्रम अन्तिम जस्तै भएको बताए । उनले समाज अव एकै ठाउँ एउटै क्षेत्रमा लागिरहन भन्दा पनि सहयोगका क्षेत्र विस्तार गर्ने र सबैको घरदैलोमा कुनै न कुनै तरिकाले पुग्ने गरी अगाडी बढ्ने बताए । उनले बेलायतमा बस्ने गुल्मेलीहरु सबैलाई सोही कार्यक्रमबाटै धन्यवाद समेत दिएका छन् ।