काठमाडौं, फागुन २० । अपहरणको नाटक गरी साहुले बैंकमा हाल्न पठाएको रकम पचाउन खोज्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा निवासी असलम मियाँको कपडा पसलमा काम गर्ने भारतको विहार हाबिबोरेराका ५० वर्षीय जावेद मियाँलाई रु ३१ लाख ३३ हजारसहित इलाका प्रहरी कार्यालय गोलबजार पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।
जग्गा खरिद बिक्रीको व्यवसाय गर्दै आएका आसलमले सिरहाका रामसेवक यादवसँग खरिद गरेको जग्गाको पैसा बुझाउन गोलबजारस्थित ग्लोबल आइएमई बैंकमा हाल्न पठाएको रु ३१ लाख ७४ हजार लिएर फरार भएका जावेदलाई व्यापक खोजीपश्चात् प्रहरीले पक्राउ गरेको हो । सोमबार अपराह्न पैसा हाल्न गएका जावेद सम्पर्कविहीन भएपछि असलमले प्रहरीलाई खबर गरेका थिए ।
सोमबार साँझ जावेदले उदयपुरको जलजलेबाट असलमलाई फोन गरी आफूलाई अज्ञात समूहले अपहरण गरेको भनी खबर गरेका थिए । असलमले उक्त खबर पाउनासाथ प्रहरीलाई जानकारी गराएपछि प्रहरी खोजीका लागि त्यसतर्फ गएको र जलजलेबाट जावेदलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पक्राउ परेका जावेदले ठूलो मात्रामा रकम देखेपछि आफ्नो मनमा लोभ पलाएकाले पैसा पचाउनलाई नाटक गरेको स्वीकार गर्नुभयो । जावेदलाई आवश्यक कारबाहीका लागि अदालतमा बुझाउने प्रहरी उपरीक्षक साहले बताउनुभयो ।
अपहरणको नाटक गरी पैसा लिएर फरार






