तक्दीर अधिकारी
सिड्नी । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई धमाधम फिर्ता लैजाँदैछ । अस्ट्रेलियामा रहेका नेपालीहरुको पालो जुन १७ मा सिड्नीबाट र २३ मा मेलवर्नबाट परेको छ । ५ सय २३ जना अस्ट्रेलियाबाट पहिलो चरणमा नेपाल फर्किदैछन् ।
एक साताभन्दा थोरै समय रहेका बेला नेपाली दूतावास क्यान्भेरा फर्किन व्यक्तिको मापदण्ड, भाडालगायत अन्य विविध कुराको नेपालबाट प्राप्त हुनुपर्ने पत्र कुरेर बसेको छ । उडानको समयसीमा तोकेए पनि लिखित पत्र आइ नपुगेकाले नेपाल फर्किने नेपाली नागरिकका बारेमा दूतावासले कुनै सूचना जारी गरेको छैन । अस्ट्रेलियाका नेपाली नेपाली राजदूत महेशराज दाहालले भने, ‘आज शुक्रबारसम्म पत्र आइपुग्छ, त्यसपछि हामी फर्किने व्यक्तिको मापदण्ड, लाग्ने शुल्कलगायत सबै कुरा समेटेर सूचना जारी गछौं ।’
पाँच दिनभन्दा थोरै समय छ, नेपाल फर्किने व्यक्तिको पिसिआर रिर्पोट तयार हुन नै दुई चार दिन लाग्छ, समय पुग्छ त भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा राजदूत दाहालले भने, ‘लगभग सबै कुरा तय भइसकेको छ, औपचारिकता मात्र बाँकी रहेको छ । द्रूत सेवाबाट पिसिआर रिर्पोट पनि २४ घन्टाभित्र निकाल्न सकिन्छ, त्यसका लागि गैरआवासीय नेपाली संघका साथीहरुले सहजिकरण गरिरहेका छन् ।’
अस्ट्रेलियाबाट नेपाल फर्किनका लागि १३ सयभन्दा बढीले दूतावासमा निवेदन दिएका छन् । पहिलो र दोस्रो उडानबाट ५ सय २३ जना फर्किन्छन्, त्यसपछि तेस्रो र चौथो चरणको उडान तालिका सार्वजनिक गरिने राजदूत दाहालले बताए । उनले भने, ‘अति समस्यामा परेका भनेर मापदण्ड आइसकेको छ, त्यसभित्र जो पर्छ, ऊ पहिलो र दोस्रो उडानमा नेपाल जान्छ ।’
फर्म भरेका सबै नेपाल फर्किन्छन भन्ने हुँदैन, शुक्रबार रिकन्फर्म पत्र आएपछि दूतावासबाट सूचना जारी हुन्छ । नेपाल एयरलाइन्सको जहाज सिड्नी आउने छ भने भाडादर प्रतिव्यक्ति १६ सय अमेरिकी डलर पर्ने सूचना यसअघि नेपाल सरकारले जारी गरिसकेको छ ।
सम्भवतः अस्ट्रेलियाबाट नेपाल फर्किने मितिमा तलमाथि नहुने राजदूत दाहालले बताए । उनले भने, उडान तालिका अस्ट्रेलियाका लागि मात्र होइन, संसारभरिकै लागि नेपाल सरकारले तय गरेको हो, त्यसैले उडान तालिका तलमाथि हुँदैन ।’
नेपाल फर्किने निश्चित भएपछि दूतावासले पिसिआर रिर्पोट र टिकट माग्नेछ । समय छोटो भएकाले अस्ट्रेलियामा रहेका नेपाली संघसंस्थाको सहयोग आवश्यक छ, राजदूत दाहालले भने, नेपाली दूतावासले गैरआवासीय नेपाली संघ, नेपाली संघसंस्थाका प्रतिनिधि, आम्दा, एम्जा र काउन्सिलर जर्नलहरुसँग छलफल गरिसकेको छ ।’
एक साताअघि मात्र अस्ट्रेलियन नागरिक लिएर क्यान्भेरा पुगेको नेपाल एयरलाइन्सको जहाजमा ११ जना नेपाली सुटुक्क नेपाल फर्किएपछि आलोचित बनेको नेपाली दूतावास क्यान्भेराले विवादमुक्त रहेर पहिलो चरणमा फर्किने नेपालीलाई फर्काउन सक्छ कि सक्दैन त्यो हेर्न अझै एक साता पर्खिनुपर्ने हुन्छ ।
अस्ट्रेलियामा संक्रमण न्यूनीकरण हुँदै गएको र नेपालमा संक्रमण फैलिँदो क्रममा रहेकाले नेपाल फर्कन हतार गर्नु बुद्धिमानी नहुने जानकारहरु बताउँछन् ।






