२९ चैत, काठमाडौं । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव प्रचण्डसँग यति धेरै रिसाएका छन् कि प्रचण्डले पटक-पटक टेलिफोन गर्दासमेत यादव मोबाइल स्वीच्ड अफ गरेर बसेका छन् । केही नेताले प्रचण्डसँग भेट गर्न प्रस्ताव राख्दा यादवले जवाफ दिने गरेका छन्- ‘त्यो धोकेबाजलाई किन भेट्नु ? भेटेर के हुन्छ ?’
केही दिन बिराटनगरस्थित आफ्नै घरमा आराम गरेका यादव शनिबार राति सिन्धुलीको बाटो हुँदै राजधानी आएका छन् । यादव आएको थाहा पाएपछि एमाओवादी अध्यक्ष प्रचण्ड उनलाई भेटेर सम्झाउने प्रयासमा लागेका छन् ।

चैत २४ गते अपरान्ह बसेको ३० दलको बैठकमा प्रचण्डले २५ र २६ गतेको नेपाल बन्द फिर्ता गर्ने प्रस्ताव गरेपछि उपेन्द्र उनीसँग रिसाएका हुन् । २७ गते बोलाइएको ३० दलीउय मोर्चाको बैठकसमेत उपेन्द्र यादवलगायतका मधेसी दलका नेताको बहिस्कारका कारण स्थगित भएको छ । अर्को बैठकको तिथि तय हुन सकेको छैन । मोर्चा लगभग विभाजित अवस्थामा पुगेको छ ।
जनजाति पार्टी मोर्चा नफुटाउने पक्षमा
यसैवीच संघीय लिम्बुवान र समाजिक लोकतान्त्रिक पार्टी लगायतत ७ दलीय जनजाति पार्टीको बैठक बसेको छ । पासाङ शेर्पा लगायतको सहभागितामा बसेको बैठकले कतिपय व्यवस्थापकीय कमी कमजोरी भए पनि त्यसलाई सच्याउँदै ३० दलीय मोर्चालाई विभाजित हुन नदिने निर्णय गरेको एक नेताले बताए ।
तर, फोरमका अध्यक्ष यादवले भने प्रचण्डलाई छाडेर जनजाति र मधेसी नेताहरुको बेग्लै मोर्चा बनाउनुपर्ने प्रस्ताव अघि सारेको स्रोतले बतायो ।
‘उपेन्द्रजीले प्रचण्डबाट धोका भएको भन्दै जनजाति र मधेसी दलको बेग्लै मोर्चा बनाउन प्रस्ताव गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘३० दललाई फुटाउनुहुन्न भन्ने जनजातिको निर्णयपछि यादवले ३० दलीय मोर्चा पनि कायम राखौं तर त्यसपछि मधेसी र जनजातिको अर्को मोर्चा पनि बनाऔं भन्ने नयाा प्रस्ताव अघि सार्नुभएको छ ।
यसैवीच यादव काठमाडौंं आएसँगै अब विजय गच्छदारबाहेकको मधेसी मोचार्ृको बैठक बस्न लागेको स्रोतले अनलाइनखखबरलाई बतायो ।
३० दललाई फुट्न नदिऔं : प्रचण्ड
यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले नेपाल बन्द फिर्ता लिने निर्णयबारे मोर्चाका अन्य नेताहरुलाई सम्झाउने कोशिस गरेका छन् । ‘३० दलीय मोर्चालाई फुट्न दिनुहुँदैन,’ प्रचण्डको भनाइ उधृत गर्दै मोर्चाका एक नेताले अनलाइनखबरसँग भने, ‘प्रचण्डको भनाइ यो छ कि मोर्चाका साथीहरुले कुरा बुझिदिनुपर्यो, नेपाल बन्द फिर्ता नलिएको भए असफल हुने थियो र हाम्रो झनै बेइज्यत हुने थियो ।’
अब तीस दलीय मोर्चाले नयाँ ढंगले अघि बढ्नुपर्ने भन्दै प्रचण्डले मधेसवादी र जनजाति नेताहरुलाई सम्झाउने प्रयास गरिरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
सहमतिका लागि इच्छुक
एमाओवादी अध्यक्ष प्रचण्ड संविधान निर्माणमा कांग्रेस एमालेसँग सहमति गर्न इच्छुक रहेको स्रोतले दाबी गर्यो ।
यद्यपि सोमबार सम्म कुनै सहमति निस्कनेमा भने एमाओवादी नेताहरु विश्वस्त नदेखिएकाले ३० दलीय मोर्चालाई निरन्तता दिनुपर्नेमा प्रचण्डले जोड दिइरहेको बताइएको छ ।






