कोरोना भाइरसबाट गुल्मीका एक शिक्षकको मृत्यु

Nurse holds blood test tube for 2019 nCoV analysis. Chinese Corona Virus Blood Test Concept

लन्डन । कोरोना भाइरस संक्रमण (कोभिड १९) पोजेटिभ देखिएका गुल्मीका एकजनाको बुटवलको क्रिमसन अस्पतालमा मृत्यु भएको छ ।

गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुषको बिहान ७ बजे मृत्यु भएको  प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरे । गाउँमा जण्डिसको समस्या देखिएका उनलाई स्थानीय मेडिकल, छिमेकी जिल्ला अर्घाखाँचीको एक पोलिक्लिनिक हुँदै क्रिमसन पुयाईएको थियो ।

क्रिमसन अस्पतालले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै उनको स्वाव संकलन गरेर काभिड १९ प्रयोगशाला भैरहवा पठाइएको थियो । कोरोना जाँच गर्नुभन्दा पहिला नै उनको स्वास्थ्य अवस्था निकै नाजुक रहेकोले भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । जेठ २ गते कोरोना पुष्टि भएपछि उनलाई  राखिएको थियो ।

गुल्मीबाट आफन्तसँग मोटरसाइकलमा र अर्घाखाँचीबाट गौतमबुद्ध अस्पतालको एम्बुलेन्समा बुटवल पुगेका उनलाई गाउँमै कोरोना संक्रमण हुने कुनै आधार नभएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् ।

मदाने गाउँपालिकामा भारतबाट आएकाहरुको आरडीटी परिक्षण गर्दा कसैको पनि पोजेटिभ नदेखिएको र उनी आफै बिरामी भएका कारण कोही कसैसँग सम्पर्कमा नआएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ । मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।