काठमाडौं, २७ चैत्र । क्रिकेट खेल्नेक्रममा बलले लागेर मृत्यु भएका अष्ट्रेलियन खेलाडी फिलिप ह्युजको श्रद्धान्जलीस्वरुप शनिबार काठमाडौंमा हुने मैत्रीपूर्ण क्रिकेट खेलको सबै तयारी पूरा भएको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा नेपाली तथा अष्ट्रेलियन खेलाडी मिसिएर टिम ‘नीलो’ र टिम रातो गरी दुई समूहमा बिभाजित भई ६३ ओभरको खेल खेल्ने छन् । फिलिप ह्युज ६३ रनमा अविजित रहँदा बलले लागेर मैदानमा ढलेकाले शनिबार हुने खेल पनि ६३ ओभरको नै खेल्न लागिएको हो ।
टिम ‘नीलो’को कप्तानी नेपाली टिमका पूर्वकप्तान विनोद दासले गर्ने छन् भने टिम ‘रातो’को कप्तानी अष्ट्रेलियन खेलाडी रायन कार्टरले गर्नेछन् । टिम ‘नीलो’बाट पारस खड्का, शक्ति गौचन, विनोद भण्डारीलगायतका खेलाडी मैदानमा उत्रने छन् ।
यस्तै, टिम ‘रातो’बाट पूर्वअष्ट्रेलिएन टेस्ट प्लेयर म्याथ्यु इलिएट, टिम एन्डरसन, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मीलगायत खेलाडी सहभागी हुनेछन् ।
उक्त खेलमा सहभागिता जनाउन अष्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष वाली एडवाड्र्स नेपाल आइसकेका छन् । शनिबार नै फिलिप ह्युजको ब्याट र जर्सी सर्वोच्च शिखर सगरमाथा लैजान कीर्तिमानी आरोही छुरिम शेर्पा र उनको आरोही टोलीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
सोही खेलपछि नेपाली क्रिकेट टोलिका पूर्वकप्तान विनोद दासले १७ वर्षे खेलाडी जीवनबाट संन्यास लिने घोषण गरेका छन् । उमेर समूहमा नेपाललाई विभिन्न प्रतियोगिताको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका विनोदले सन् २ हजारमा सिनियर राष्ट्रिय टोलिमा ‘डेब्यु’ गरेका थिए । घुँडामा लागेको चोटका कारण उनले सन् २०१२ यता राष्ट्रिय टोलीबाट कुनै खेल खेल्न सकेका छैनन् ।
फिलिप ह्युज श्रद्धान्जली क्रिकेटको तयारी पूरा






