म मेघा श्रेष्ठ। अमेरिकाको पोट्ल्यान्ड ओरेगोनस्थित एक अस्पातलमा रजिस्टेड नर्सको रुपमा कार्यरत छु । यस कोविड–१९ अनिश्चितताको समयमा मैले के गर्दै छु त, सायद यो तपाईहरुलाई कौतुहल हुन सक्छ ।
कोरोना संक्रमितले भरिभराउ अस्पतालमा मेरो दैनिकी कसरी बित्दै छ त ? यो बारेमा म छोटोमा आफ्ना कुरा राख्छु ।
कोरोना संक्रमित भन्नासाथ स्वास्थ्यकर्मीहरु नै सात कोस टाढा भाग्छन् । म भने दैनिक बिरामीसित हेलमेल गरिरहेको छु । यो चासोको विषय हुन सक्छ ।
खासमा कोविड–१९ श्वासप्रश्वाससम्बन्धी रोग हो । यो सुरुमा चीनको वुहान राज्यमा देखिएको थियो र अहिले संसारभरि महामारीको रुपमा तीब्र गतीले फैलिरहेको छ। अमेरिकाको न्यूयोर्क राज्यका मेयरले भनेका पनि थिए, ‘बुलेट ट्रेनको रुपमा अमेरिकामा कोरोना फैलिरहेको छ ।’ यो अप्रिल ३ तारिखसम्म अमेरिकामा मात्रै झन्डै ६ हजारले ज्यान गुमाइसकेका छन् भने साढे २ लाखको हाराहारीमा संक्रमित देखिएका छन् । म बस्ने ओरेगोन प्रान्तमा यो मितिसम्म ६ सयभन्दा बढीमा संक्रमण देखिएको छ ।
दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । राज्यका गभर्नरले घरमै बस्न निर्देशन दिएका छन्। राज्यका सबै बिद्यालय बन्द छन् । ठूला भीडभाड हुने कार्यक्रम गर्न बन्देज नै लगाएको छ । अति आवश्यक खाद्यान्न पसल, औषधि पसल र अस्पातलमात्र खुला छन् । औद्योगिक क्षेत्र बन्द भएको धेरै समय भइसक्यो ।
अस्पातलमा पनि आकस्मिकबाहेक अरु सेवा बन्द गरिएका छन । यी अत्यावश्यक कार्यालयमा काम गर्ने कर्मचारीहरु पनि कम्तीमा ६ फुटको दूरी बसेर काम गरिरहेका छौं । म फ्लोड पुल अर्थात् सबै विभागहरुमा काम गर्छु । हामीकहाँ कोभिड १९ संक्रमित बिरामी निरन्तर आइरहन्छन्। इमर्जेन्सीमा आएका बिरामीलाई पहिले नर्सहरुको सहायताले जाँच गरिन्छ र संक्रमित भएको शंका भएकालाई आइसोलेसनमा रिपोर्ट नआउन्जेल रखिन्छ।
हामीले कोभिडका बिरामीलाई भिन्दै तलामा यानि छुट्टै वार्डमा राख्ने गरेका छौं । जहाँ अरु बिरामी वा सर्वसाधारणमा संक्रमण र्फैलिन नपाओस् । धेरैले कोभिड– १९ संक्रमण हुनासाथ मृत्यु नै सम्झन्छन्, तर त्यो सत्य होइन। बेलैमा राम्रोसित उपचार हुन सक्यो भने र जुन बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ, उनीहरु केही दिनमै निको भएर घर फर्कन सक्छन् ।
त्यसो त म आफैंले पनि कोरोना संक्रमण भएका विरामीको उपचार टिममा संलग्न छु । उनीहरु निको भएर घर फर्केका देखेको छु । भाग्यवश, अहिलेसम्म हामीकहाँ आएका सबै संक्रमित बिरामी सन्चो भएर घर फर्केका छन् । इमर्जेन्सीमा आउने सबैलाई भर्ना पनि गरिन्न । कोही घरमै क्वारेन्टाइन बसी रिपोर्ट कुर्छन् । बिरामीले सिकिस्तै भए मात्र अस्पताल भर्ना गरिन्छ।
फ्रन्ट लाइन स्टाफ भएर काम गर्नुले मलाई निडर र कोमल हुन सिकएको छ। यो अनुभवले मलाई केही कुरा पनि सितैमा नलिन सिकएको छ। विश्वभरिका स्वास्थ्यकर्मीहरू अहिले ठूलो मुस्किल र तनावमा काम गरिरहेका छन् र यसले हामीलाई एकजुट हुन सिकएको छ । काममा जहिल्यै सहकार्य गर्नुपर्छ अनि लापरबाही गर्नु हुन्न ।
म काम गर्ने अस्पातलले सबैका लागि पीपीई पु¥याउन सहयोग लिने गरेको छ। हामीकहाँ कर्मचारीका लागि चिया, खाजा, मसाज कुर्सी र सामाग्रीका साथै छोटो आरामका लागि भिन्दै कोठाको व्यवस्था गरिएको छ। अरु संस्थाले पनि स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क सहयोग र अनुदान दिने गरेका छन् ।
मैले नेपालको समाचार पनि नजिकबाट हेरिरहेकी छु । त्यहाँको फ्रन्ट लाइन स्टाफको अवस्था हेर्दा र सुन्दा मन भकानिन्छ। पीपीईबिना उपचार गर्नु धेरै खतरनाक हुन्छ। पीपीई नभएकै करण बिरामीको उपचार हुन नसकेको खबर पनि सुन्नमा आएका छन् । यो धेरै चिन्ताको विषय हो । पीपीईबाहेक कुनै पनि स्वास्थ्यकर्मी संक्रमित छेउ जानु हुन्न ।
म जस्तै नर्सहरुलाई एकजुट हुन आग्रह गर्दछु । यो अवस्थालाई सबै मिलेर सही तरिकाले नियन्त्रणमा लिन अनुरोध गर्छु र विश्व स्वास्थ्य संगठनले दिएको नियम र निर्देशहरु लागू गर्न पनि अनुरोध गर्दछु।
यस्तो अवस्थामा एकअर्काको सहयोग गर्नुभन्दा ठूलो केही हुँदैन । अवस्था निकै भारी हुन सक्छ तर लामो सास लिन नबिर्सिनु । जीवनका सकारात्मक कुराहरुलाई हेर्नुस्, मानवता र कोमलताको कार्य गर्नुहोस् । नकारात्मक हल्लाबाट टाढा रहनुहोस् । सामाजिक सञ्जालको हल्लामा मात्र नलाग्नुस् । तर कुन सत्य कुन असत्य समाचार चिन्नुहोस र सबैभन्दा महत्वपूर्ण ध्यान र ब्यायम गर्दै आफ्नो ख्याल राख्नुहोस्।यो समाचारलाई हामीले खुला नेपाल बाट साभार गरेका हौं ।
-प्रस्तुति अभिशेक तिवारी-






