‘नेपाल अन डिमाण्ड’ का सबै सेवा स्थगित

काठमाडौँ । नेपालका ताजा समाचार र फिल्म हेर्न तथा गीत सुन्न पाइने मोबाइल एप ‘नेपाल अन डिमान्ड’ का सबै सेवाहरु हालका लागि स्थगित गरिएको म्युजिक नेपाल प्रालिले जनाएको छ। ।

संसारभरि छरिएका नेपालीहरुलाई गीत, संगीत र सूचना तथा समाचारबाट मातृभूमिसंग जोड्ने उद्देश्यले म्युजिक नेपाल प्रालिले उक्त एप सार्वजनिक गरेको हो।
“कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले हामीलाई कार्यालयमै गएर काम गर्न गाह्रो भयो। त्यसैले अहिलेको असहज परिस्थितिलाई ध्यानमा राखेर उक्त मोबाइल एपबाट दिइंदै आएका सेवा अहिलेका लागि स्थगित गरेका छौं,” म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्माले भने। “अहिलेको असहज परिस्थितिमा सुधार आउनासाथ हामी नेपाली दाजुभाइ, दिदीबहिनीहरू समक्ष मनोरंजन सेवा लिएर यथाशिघ्र उपस्थित हुने छौं ।

यसबाट हाम्रा ग्राहकहरुमा पर्न गएको असुविधाका लागि हामी दु:ख व्यक्त गर्दछौं।“
नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको म्युजिक नेपालले शुरुमा प्रति महिना ७.९९ पौण्ड शुल्क राखिएकोमा ब्रिटेनमा बस्ने नेपालीहरुको चाहनालाई ध्यानमा राख्दै शुल्क घटाएर मासिक २ पौण्ड राखेको जनाएको थियो ।