भारी हिमपातले बेलायतका अधिकांश क्षेत्रमा जनजीवन कष्टप्रद (हेर्नुस् फोटो फिचर)

लण्डन । बेलायतमा भएको भारी हिमपातले  अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ । हिउंका कारण कतिपय क्षेत्रमा सडक तथा रेल यातायात समेत अवरुद्ध बनेका छन् । हिमपात भएपछि बेलायतभरका विभिन्न ठाउंमा सयौं रेल सेवा अवरुद्ध भएका छन्, कैयौं विद्यालयहरु बन्द भएका छन् ।

खराब मौसमका कारण केही मानिसको ज्यान समेत गएको छ । हिउंमा चिप्लिएर कार घरमा ठोक्किंदा कर्नवालमा एक सात वर्षीया बालिकाको मृत्यु भएको छ । लिड्समा ७५ वर्षीया वृद्धा हिउंले ढाकिएको सडकमा मृत फेला परेकी छन् भने हयाम्पसायरमा भ्यान र लरी आपसमा ठोक्किंदा ४६ वर्षीय भ्यान चालकको निधन भएको अखबारहरुले उल्लेख गरेका छन् ।

साउथ इष्ट लन्डनस्थित डेन्सन पार्कको पानीबाट उद्दार गरिएका ६० वर्षीय स्टेफेन क्याभानाघको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।