एनआरएन यूकेका पूर्वअध्यक्ष गुरुङद्वारा संकलित ६ लाख’ बराह सेकेन्डरी स्कुललाई

लन्डन । बेलायतको नेपाली समुदायमा एक इमान्दार व्यवसायी र भद्र समाजसेवीको छवि बनाएका एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङले कास्कीको एक स्कुललाई आर्थिक सहयोग गर्ने भएका छन् ।फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १९ औं वार्षिकोत्सवमा च्यारिटी डिनर बाट संकलित ४२ सय पाउण्ड (करिब ६ लाख रुपैयां) रुपैयां नेपालको कास्की भेडाबारीस्थित बराह सेकेन्डरी स्कुललाई सहयोग प्रदान गर्ने भएको सञ्चालक समाजसेवी सूर्य गुरुङले लन्डन नेपाल न्यूज डट कम संगको टेलिफोनमा बताए ।

गुरुङले विगत १९ वर्षदेखि रेष्टुरेन्ट वार्षिकोत्सवमा हरेक वर्ष नेपाल र बेलायतको च्यारिटीमा सहयोग गर्दै आएका छन् ।

यसै बीच सञ्चालक गुरुङकी सुपुत्री ११ वर्षीया सिल्भियाले स्वागत मन्तव्यबाट सुरु गरेको च्यारिटी डिनर कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, स्थानीय सांसद लियो डोचेर्टी, पूर्व मन्त्री तथा सांसद सर जेराल्ड होवार्थ लगायतले रेष्टुरेन्टको सामाजिक कार्यको प्रशंसा गर्दै अझ व्यवसायिक सफलताको शुभकामना दिए ।

कार्यक्रममा रसमोर काउन्सिल लिडर डेभिड क्लीफोर्ड, पूर्व मेयर मार्टिन टिनेन्ट, मेयरेस मिस अटिक्का चौधरी लगायत सयौं सहभागी थिए ।
उक्त अवसरमा राफल ड्र, अक्सन (लिलाम बढाबढ) र बिंगो समेत खेलाइएको थियो ।

तस्विर- मिलन तमु