काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सशस्त्र प्रहरीका लागि सामान खरिद गर्दा नक्कली बिल बनाई ६ करोड ७९ लाख बराबर भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले वन्तसहित ११ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले वन्तसँगै ८ जना सशस्त्रका कर्मचारी र २ जना ठेकेदारलाई समेत उक्त मुद्दामा विपक्षी बनाइएको हो।
अख्तियारको आरोपपत्रमा लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापाले सदाज्योति तथा अदिती ट्रान्सपोर्टका सञ्चालकसँग मिलेमतो गरी खाली तथा विभिन्न युनिटहरूमा सामान पठाएको बिल आफ्नै कार्यकक्षमा बनाएको देखिएको उल्लेख छ। निरीक्षक थापाले लेखाशाखामै कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षकहरू निलबहादुर श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, लेखबहादुर खत्री र जवान मिलन अधिकारी समेतलाई प्रयोग गरी भण्डार शाखाले भुक्तानीका लागि बिल पठाएको अख्तियारको अनुसन्धानमा देखिएको आरोपपत्रमा उल्लेख छ। भण्डार शाखाका अधिकारीको नक्कली दस्तखत जवान मिलन अधिकारीलाई गर्न लगाएको अनुसन्धानमा देखिएको अख्तियारको आरोपपत्रमा छ।






