न्यूयोर्क:कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला न्यूयोर्क लगायत अमेरिकाका सवै राज्य र नेपालमा रहेका नेपालीलाई चिकित्सक डा. केशव पौडेलले सवैलाई यतिखेर घरमै बस्न आग्रह गरेका छन् । अहिलेको परिस्थिति नै फरक भएकोले यतिबेला कोही पनि बाहिर जान नहुने उनले सुझाव दिए । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. पौडेल न्युमेक्सिको स्थित लबलेस लब लेस हेल्थ सिस्टमका निर्देशक हुन्। कोरोना संक्रमणबाट बच्न उनको सुझाव यस्तो छ:
यदि कोही बाहिर निस्कनै परेमा हातमा पन्जा, मुखमा मास्क लगाएर जानु पर्छ । बाहिरबाट आउने बित्तिकै साबुन पानीले कम्तीमा २० सेकेन्ड हात धुनु पर्छ । यतिबेला सवै जना घरमा बस्दा ठिक समयमा उठने, ठिक समयमा सुत्ने, प्रोटिनयुक्त खानेकुराहरु, तातो पानी र तातो सुपहरु खाएर सकारात्मक सोचका साथ समय व्यतित गर्नु ज्यादै उपयोगी हुन्छ ।
घरमा बस्दा कसैलाई ज्वरो आएमा ६,६ घण्टाको फरकमा पारासिटामोल खानु पर्छ । तर धेरै ज्वरो आएर निमोनिया भयो वा श्वासप्रस्वासका समस्या आएमा मात्र अस्पतालमा उपाचारको लागी जानु पर्छ । कोरोना लाग्दैमा मान्छे मर्दैन र ८० प्रतिशत मान्छेलाई सामान्य कोरोनाको लक्षण देखिने बित्तिकै निको हुन सक्छ । यतिखेर स्वस्थ छु भनेर मात्र हुदैन स्वस्थ व्यक्तिलाई कोरोना लागेमा उसलाई केही नभएपनि अरुलाई समस्या पर्नसक्छ । यो महामारी फैलिरहेको बेलामा घरमा बस्नेहरु मात्र होइन आइसियुमा र भेन्टीलेटरमा पुग्नेहरु कोही पनि अत्तिनु हुंदैन । चिकित्सकले भनेको मान्नु पर्छ । उपचार गरेर निको हुनेहरु धेरै छन् । कोरोना लागेको अहिलेको परिस्थितिमा २ देखि ४ प्रतिशत मान्छे गम्भीर विरामी भएर मर्न सक्छन् ।
यो भाइरसले पाको उमेरका व्यक्तिलाई बढी असर गरेको छ । त्यो भनेको रोग प्रतिरोधात्मक क्षमता कम हुनु नै मुख्य कारण हो । कोरोनाले हालसम्म बालबालिकालाई असर गरेको देखिएको छैन । यसको मतलव बालबालिकालाई यो रोग नै लाग्दैन भन्नेचाहिँ होइन । हामीले बालबालिकालाई संक्रमित व्यक्तिको नजिक नलैजाऔं । बच्चालाई धेरै व्यक्तिले लिने काम पनि नगरौं ।
यो रोग लागेर १४ दिनसम्म आइसोलेसनमा बसेको व्यक्तिले अर्को व्यक्तिलाई सार्ने सम्भावना निकै कम हुन्छ, तर जोगिनु भने पर्छ । भाइरस लागेको व्यक्ति ३-४ हप्तासम्म आइसोलेसनमा बस्नुपर्ने भन्ने मैले पनि सुनेको छु । अहिलेसम्मको प्राक्टिस हेर्दा १४ दिनभन्दा बढी बस्नु पर्दैन । यो भाइरस लागेर १४ दिनसम्म आइसोलेसनमा बसिसकेपछि फेरि आइसोलेसनमा बस्नु पर्दैन । सामान्यतः एक पटक लागेको मान्छेलाई यो रोग अर्को पटक लागेको देखिन्न । त्यो भनेको सम्बन्धित व्यक्तिले रोग प्रतिरोधात्मक क्षमता विकसित गरिसकेको हुन्छ । कसै–कसैलाई कुनै लक्षण नदेखिएर पनि कोरोना भाइरस निको भएको हुन सक्छ ।
यो भाइरसको औषधि पत्ता लगाउनका लागि प्रयास भइरहेका छन् । तर, आजको भोलि औषधि पत्ता लाग्ने सम्भावना निकै कम छ । यसैले अहिले घरमै बस्नु अचुक उपाय हो । पहिलो औषधि नै त्यही हो । त्यो भनेको तपार्इं संक्रमित हुनबाट जोगिनु हो भने अरूलाई पनि यो भाइरसबाट बच्न सहयोग गर्नु हो । यो भाइरसको भ्याक्सिन बन्न अझै ६ महिनादेखि १ वर्ष लाग्छ । यसैले घरमै बसौं, सही सूचना आदानप्रदान गरौं । नआत्तिऔं, नअत्याऔं ।






