- बिपिन निरौला
लण्डन । भनिन्छ नि ‘ज्यान जोगिए लाख उपाय’ ।साउथ इस्ट लन्डनमा “कपुर”का नामले परिचित युबा रेस्टुरेन्ट ब्यबसायी पद्म राणा कोरोना भाईरस (कोभिड १९) लाइ जितेर अस्पतालबाट घर फर्किएका छन् ।
पत्रकार बिपिन निरौलासंग टेलिफोनमा कुराकानी गर्दै राणाले आफुले बल गरेर खाएर र मनोबल उच्च राखेर यो माहा-संक्रमणबाट बच्न सफल भएको बताए । आफु सधै सफा सुघ्घर ( हाइजिन ) मा ध्यान दिने र स्वास्थ्य रहन सधै ब्यायाम गर्ने भएतापनि त्यहि ब्यायामशाला (जिम) बाट नै संक्रमण सरेको उनको आशंका रहेको बताए ।
“सामान्य ज्वरो अनि निरन्तर खोकी लागेपछि एक सातासम्म औषधी खादा पनि खोकीले निको हुने छाँटकाँट नदेखाएपछि निमोनियाँ वा कोरोना भाइरस संक्रमण भएर कतै छातीमा इन्फेक्सन पो हुन्छ कि भन्ने डरले एम्बुलेन्सलाई बोलाएको र केहीवेरमै स्वास्थ्यकर्मीसहित एम्बुलेन्स घरमै आईपुग्यो ” राणा ले भने -“सामान्य चेक जाँच गरी एम्बुलेन्सका स्वास्थ्यकर्मी फर्किए सायद कोरोनाबाट संक्रमित व्यक्ति भरिभराउ भएका कारण अस्पतालमा उनीहरुले तत्काल भर्ना गर्न नखोजेका होलान् ।’स्वास्थ्यकर्मीले राणालाई थप एक दिन निगरानीमा राख्ने निर्णय गर्दै केही एन्टिवायोटिक औषधी दिएका तर एन्टिवायोटिक खाँदा पनि बिमारीमा केही कमी नआएपछि उनले आत्तिँदै दोस्रो दिन पनि एम्बुलेन्सलाई फोन गरेको सम्झिदै राणाले भने ” सायद मेरो अवस्था जानकारी भैसकेकाले दोस्रो पटक आएका एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी टोलीले मलाई स्थानीय वूल्विचको क्वीन एलिजावेथ अस्पताल लागे।अस्पतालमा छातीको एक्सरे गरियो , एक्सरे रिपोर्टले निमोनियाको शंका सही सावित भयो र कोभिडको पनि चेक जाँच भयो । त्यसमा पनि पोजेटिभ भेटियो । निमोनिया र कोभिड पोजेटिभ भेटिए पनि म अताल्लिन । “
मैले पहिले पटक बेलायत आउँदा गरेको दु:ख सम्झिए “बेलायत आएर ठेलामा मोमो बिक्री गर्दै परिवार, बस्ने घर, सवारी साधन र व्यवसाय गरेर यहाँसम्म आइपुगेको छु । यो कोरोनाले मलाई छुन सक्दैन । मैले कहाली लाग्दो रोग कोरोनासँग लड्ने तयारी गरे । कोरोना संक्रमण हुने बित्तिकै मरिहालिन्छ भन्ने भ्रमलाई गलत साबित गर्ने संकल्प लिए । आफन्त तथा सुख दुखमा साथ दिने परिवार र जीवन संगीनी सम्झिए । त्यसैबीच मलाई अस्पतालमा एउटा छुट्टै कोठामा राखेर उपचार सुरु भयो ।अस्पताल भर्ना भएको एक सातामा मलाई सानो पाइपबाट निरन्तर अक्सिजन दिइयो । गत सात २३ मार्च सोमबार अस्पतालबाट डिस्चार्ज हुनु दुई दिन अघि अक्सिजन झिकेर मेरो स्वास्थ्य अवस्था चेक जाँच गरियो । त्यसमा पनि कुनै समस्या नेदेखिएपछि गत सतादेखि घरमै आराम गरेर होम आईसोलेसनमा बसेको छु ।” राणाले २ साता अघिको घटनाक्रम सम्झिदै बताए ।
करिब २० बर्ष अघि बेलायत आएका राणा साउथ इस्ट लन्डनको वुल्विचमा ठेलामा मोमो बेच्नुका साथै फ्युजन नामको रेस्टुरेन्ट समेत संचालन गर्छन । यसअघि उनि लामो समय देखि प्लमस्टेडमा नमस्ते नामक नेपाली रेस्टुरेन्ट चलाउदै आएका थिए ।
कोरोना भाइरस संक्रमणका कारण बेलायतमा अहिलेसम्म एक हजार चार सय ८ जनाको मृत्यु भैसकेको छ । २२ हजार एक सय ४१ जना कोरोना संक्रमित बेलायतमा उपचारार्थ अस्पतालमा भर्ना गरिएको छ भने एक सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।
राणा कोरोना संक्रमण बाट बच्न व्यालेन्स डाईटमा ध्यान दिन , तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान सुझाब दिन्छन । साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तिमा २ पटक स्टिम बाथ लिन पनि सुझाउछ्न । घरमै सामान्य ब्यायाम गर्न र अति आबस्यक काममा बाहेक घर बाहिर ननिस्किन सम्पूर्ण नेपाली समुदायमा उनले अनुरोध गरेका छन् ।






