अष्ट्रेलिया आउनेहरू १४ दिन सेल्फ आइसोलेसनमा बस्नैपर्ने, नबसे सजाय

सिड्नी । अन्य मुलुकबाट अष्ट्रेलिया आउने जोकोही अब १४ दिन सेल्फ आइसोलेसनमा बस्नै पर्ने भएको छ । हिजो आइतबार मध्यरातपछि लागू हुनेगरी अष्ट्रेलियन सरकारले यो व्यवस्था गरेको हो । अन्य मुलुकबाट आउने अष्ट्रेलियन नागरिक वा विदेशी नागरिक सबै सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।

यस नियमको उल्लंघन गरेमा ५० हजार डलर र १२ महिना जेल बस्नुपर्ने व्यवस्था गरिएको छ । यो जरिवाना वेस्टन अस्ट्रेलियामा तोकिएको हो । साउथ अस्ट्रेलियामा २५ हजार, क्विन्सल्यान्डमा १३ हजार ३४५, न्यू साउथ वेल्समा ११ हजार र ६ महिना जेल, तास्मानियामा ८ हजार ४ सय र भिक्टोरियामा ६ हजार ६ सय डलर जरिवाना तोकिएको छ । यो नियमले अष्ट्रेलियामा आउँदै गरेका आप्रवासी, विद्यार्थी र अभिभावकहरु प्रभावित हुने छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कम्तिमा ३० दिनका लागि अष्ट्रेलियामा आउने कुनै पनि यात्रुवाहक पानी जहाजलाई प्रवेश नदिने घोषणा गरेका छन् । संसारभर फैलिएको महामारीबाट बच्न प्रधानमन्त्री मोरिसनले सबै अष्ट्रेलियनलाई एकजुट हुन र एक अर्कालाई सहायता गर्न आग्रह समेत गरेका छन् । कसैसँग भेट्दा हात नमिलाउन र भीडभाडमा नजान सरकारले आग्रह गरेको छ ।

एजेन्सी