‘केन्द्रिय अध्यक्ष पन्तलाई कालो झन्डा देखाइएमा हामी जिम्मेवार हुने छैनौं

लन्डन ।एनआरएन युकेले आयोजना गर्न लागेको एक विवादित कार्यक्रममा बेलायत आउने भनिएका केन्द्रिय अध्यक्ष कुमार पन्तलाई कालो झन्डा देखाइएमा आफुहरुले जिम्मा लिन नसक्ने एनआरएन युकेका निर्वाचित पदाधिकारीहरुले जनाएका छन् । बुधबार राती साउथ ह्यारो स्थित गोल्डेन सिप रेस्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन युकेका उपाध्यक्ष प्रेम गाहा मगरले बिहिबार हुन लागेको उक्त विवादित कार्यक्रममा भाग नलिन अनुरोध गर्दै आफुले केन्द्रिय अध्यक्ष पन्त तथा बेलायतमै बसोबास गर्ने महासचिव डा हेमराज शर्मालाई इमेल पठाएको जनाए । “तपाईंहरुले यो प्रत्यक्ष पत्रकार सम्मेलन हेरीरहनु भएको छ भने मेरो इमेलको जवाफ दिनोस्,” मगरले भने। उनले अध्यक्ष पन्तलाई विवादित र निहित स्वार्थी गुटको हैन, ८२ मुलुकमा शाखाहरु भएको एनआरएन केन्द्रको नेतृत्व गर्न आग्रह पनि गरे।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन युकेका अर्का उपाध्यक्ष नारायणदत्त कंडेलले एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले आफु खुसी सल्लाहकारहरु मनोनयन गरेको र उनीहरुलाई कार्य समितिले अनुमोदन नगरेको खुलासा गरे। “कार्यसमितिले अनुमोदन नगरेका व्यक्तिहरुलाई सल्लाहकार भन्दै खादा र माला लगाउने कार्यक्रम अवैध र संस्थाको हितमा छैन। त्यसैले हामीले बिहिबार हुने भनिएको कथित कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हौँ, “ उनले भने। उपाध्यक्ष नारायणदत्त कंडेलले अध्यक्ष गुरुङले कार्यसमिति भन्दा बाहिर रहेका व्यक्तिहरुको प्रभावमा परेर प्रस्ताव ल्याउने तथा त्यसलाई पारित गराउन प्रयास गर्ने गरेको पनि जनाए। उनले बेलायतस्थित झन्डै २ लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने निर्वाचित कार्यसमितिमा कोहि सक्षम व्यक्ति नै नभएको जस्तै गरी केन्द्रबाट मनोनित आइसीसी सदस्य रामशरण सिम्खडालाई मार्च ५ मा हुने भनिएको कार्यक्रम संयोजन गर्न कार्यसमितिको सहमति बिना नै सर्वाधिकार सुम्पिनु दुखको कुरा भएको पनि बताए ।

एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले कार्यसमितिलाई थाहा नदिइ कुनै व्यक्तिले व्यक्तिगत इमेलबाट चन्दा उठाउने तथा खर्च गर्ने परिपाटी गलत भएको जनाए। “सो कार्यक्रमका लागि भनि तोकिएको खातामा अहिलेसम्म जम्मा ३०० पौण्ड मात्रै जम्मा छ, बांकी रकम कहाँ बाट कसरी आयो?” उनले प्रश्न गरे। उनले बिहिबार गरिने भनिएको कार्यक्रमको सबै हिसाबकिताब कार्यसमितिले छानबिन गर्ने घोषणा पनि गरे। कार्यक्रममा एनआरएन युकेका उपाध्यक्षहरु रामचन्द्र पोखरेल तथा मोहन कार्कीले निवर्तमान कार्यसमितिको कार्यकालमा भएको भनिएको करोडौं रकम घोटाला तथा गत वर्षको चुनावमा भएका अनियमितताबाट आम बेलायतवासी नेपालीको ध्यान अन्यत्रै मोडन बिहिबारको कार्यक्रम गर्न लागिएको आरोप लगाए। “कोरोना भाइरसको संक्रमण बढी रहेको यो बेला खादा र माला लगाएर बस्ने समय होइन, समाजलाई हामीले के जवाफ दिने,” उनीहरुले प्रश्न गरे।

उक्त कार्यक्रमलाई एनआरएन युकेका उपाध्यक्ष कंडेलले बच्चा जन्मनु अघि कन्दनी बाट्ने कार्यसंग तुलना गरेका छन्। मार्च ५ को कार्यक्रमले एनआरएन युके भित्र विद्रोहको स्थिति खडा गरिदिएकोमा एनआरएनका संस्थापक तथा शुभेच्छुहरुले दुख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *