लण्डन। राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज मंगलबार संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सम्माननीय सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गर्नु भएको छ ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भू.पू. गोर्खासम्बन्धी विषयहरुमा विचारहरुको आदानप्रदान भयो।
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका माननीय सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उप नियोग प्रमुख उक्त भेटमा सहभागी हुनुहुन्थ्यो।
यसै सिलसिलामा हिजो २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष माननीय श्री वीरेन्द्र शर्माले उहाँको सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुभयो।
सम्माननीय अध्यक्ष तिमिल्सिना बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कदै हुनुहुन्छ।






