तक्दीर अधिकारी
होबार्ट। नेपाल फेयर होबार्टको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । अष्ट्रेलियाको बहुसंस्कृतिक समुदायमा नेपाललाई परिचित गराउने उद्देश्यले नेपाली मेला होबर्टको आयोजना गरिएको हो । मेला फेब्रअरी २९ मा आयोजना हुनेछ भने मेलको उद्घाटन अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले गर्नेछन ।
गत वर्ष नेपाल फेयरको सफलतापछि तस्मेनियामा रहेका नेपालीहरुले बिदेशीमाँझ नेपाली कला संस्कृति, रहन, सहन, भेषभुषा र खानपिनलाई परिचित गराउन कार्यक्रम आयोजना गरिएको एभरेस्ट मिडिया हाउसका डा. केशव भट्टराईले जानकारी दिए ।
डा. भट्टराईका अनुसार कार्यक्रमको मुख्य आकर्षणको रुपमा कार्यक्रम सुरु हुनु अगाडी नेपाली काला संस्कृति र नेपाल चिनाउने झाँकीसहित परेडको कार्यक्रम रहेको छ । बिभिन्न झाँकीसहितको परेड कार्यक्रम स्थल पुगेपछि औपचारिक कार्यक्रमको सुरुवात हुनेछ ।
कार्यक्रममा तास्मेनियाका साथ साथै अष्ट्रेलियाका राजनीतिक दलका नेता र सरकारका प्रतिनिधिको पनि बिशेष उपस्थिति रहनेछ । एनआरएनए अष्ट्रेलिया र तस्मेनियामा रहेका सामाजिक संघ संस्थाहरु र बिभिन्न ब्यापारिक संघसंस्थासँगको समन्वय, सहयोग र सहकार्यमा आयोजना हुने कार्यक्रममा डिजे नटकेसले सांगीतिक माहोल सिर्जना गर्नेछ भने हाइपेर ब्यैंडले आफ्नो लाइभ प्रस्तुतिहरु दिनेछ ।
यसैगरी कार्यक्रमको अर्को आकर्षणको रुपमा नेपाल संस्कृतिका बिबिधता झल्कने गरी स्थानीय नेपाली कलाकार र प्रतिभाले बिबिध प्रस्तुति दिने छन् ।






