सिड्नी । गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले विश्वभर रहेका नेपाली उद्यमी, पेशेवर र नवप्रवर्तकहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित National Entrepreneur Conference 2026 आयोजना गर्ने भएको छ। सम्मेलन आगामी ९ मे २०२६ मा सिड्नीस्थित Hyatt Regency मा हुने आयोजकले जानकारी दिएको छ।
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने सम्मेलनको मूल नाराः “Connect – Inspire – Grow” राखिएको छ। कार्यक्रममा नेपाल र अष्ट्रेलियाका विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी हुनेछन्।प्रमुख वक्ताका रूपमा नेपालका प्रख्यात बैंकर तथा उद्यम नेतृत्वकर्ता अनिल केशरी शाह सहभागी हुनेछन्। उनले “From Remittance to Investment: Unlocking Diaspora Capital for Economic Growth” शीर्षकमा रेमिटेन्सलाई उत्पादक लगानीमा रूपान्तरण गर्ने विषयमा धारणा राख्नेछन्।
त्यस्तै, अष्ट्रेलियाकी सञ्चार विज्ञ तथा ब्रडकास्टर ओलिम्पिया क्विटोव्स्कीले “No One Will Tell Your Story Better Than You” शीर्षकमा व्यक्तिगत ब्रान्डिङ र प्रभावकारी प्रस्तुति सीपबारे सत्र सञ्चालन गर्नेछिन्।जोखिम व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ एन्रिको पेकोराले व्यवसायमा जोखिम न्यूनीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने विषयमा व्यवहारिक जानकारी दिने कार्यक्रम रहेको छ।
सम्मेलनभर विभिन्न प्रस्तुति, प्यानल छलफल, अन्तरक्रियात्मक सत्र तथा नेटवर्किङका अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ। एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले सम्मेलनले नेपाली उद्यमी तथा पेशेवरहरूबीच सहकार्य, सिकाइ र सञ्जाल विस्तारमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।






