सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यु साउथ वेल्स राज्य समितिले हिन्दुहरुको पारिवारिक मिलनको पर्व विजया दशमी, शुभदिपावली,छठ तथा नेपाल सवंत् ११४२ को पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
यसवर्षको दशैँमा घरदेशमा जान नपाएका नेपालीहरुलाई जमघट गरी आपसमा सद्भाव, मित्रता एवम् भाईचाराको सम्बन्ध कायम गर्दै ठुलाचाडपर्वहरुमा एकआपसमा दुखसुख साटासाट गर्ने तथा शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले अक्टोबर १ तारिख शनिवार कार्यक्रम सम्पन्न गरिएको हो ।
ओएनएफ न्यू साउथ वेल्स राज्य कमिटीका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओएनएफ अन्तराष्ट्रिय कमिटी सचिव रमेश पाण्डेले अस्ट्रेलियामा रहेका सबै नेपाली समुदाय एकजुट भएर घरदेशको योगदानका लागि लाग्नु पर्ने बताए । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशब जोशीले दशैँ तिहार जस्ता नेपालीहरुका महान पर्वले सबैलाई सत्कर्ममा लाग्ने प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै एनआरएनए सबैको साझा संस्था भएकाले विगतका केही विषयहरुलाई सुधार गरी सबैलाई एकताबद्ध गरेर लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा ओशीयान क्षेत्र इन्चार्ज डा. विनोद श्रेष्ठले दशैँ तिहारको शुभकामना व्यक्त गर्दै दशैँ तिहारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी सबैको जमघट हुने अवसर मिलाएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
त्यस्तै ओशीयाना क्षेत्रिय सचिव सन्तोष दाहालले पनि शुभकामना मन्तव्य प्रस्तुत गर्दै आगामी मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा राम्रो दललाई नैतिक समर्थन जनाएर सहयोग गर्नुपर्ने बताए ।
उक्त अवसरमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङ, उपाध्यक्ष सुकृति भट्ट, नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य संयोजक समिता गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा न्यू साउथ वेल्स राज्य परिषद अध्यक्ष सापकोटाले नेपाली चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै आगामी वर्षदेखि नयाँ वर्षको बार्बीक्यू, मदन आश्रित स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा दशैँ तिहारको शुभकामना आदान प्रदान सहित चियापान कार्यक्रमको गर्ने जानकारी दिएका थिए । उनले आफ्नो महत्वपूर्ण समय कार्यक्रमलाई उपलब्ध गराई सहभागी हुने सम्पूर्ण अतिथि तथा उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
ओएनएफ न्यू साउथ वेल्स राज्य परिषद उपाध्यक्ष सिताराम घिमिरेको स्वागत मन्तव्य सगैं सुरु भएको कार्यक्रमको सञ्चालन सचिव शिव पौड्यालले गरेका थिए ।






