काठमाडौं, २० चैत्र । राष्ट्रिय लिग फुटबलमा दावेदार नेपाल पुलिस क्लबले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो खेलमा शुक्रबार पुलिस झापा–११ सँग ३–१ ले पराजित भएको हो । केही समयदेखि रोकिएको राष्ट्रिय लिग पुनः सन्चालनमा आएसँगै राजधानीको दशरथ रंगशालामा भएको खेलमा पुलिसले जुमनु राईको गोलबाट प्रारम्भिक अग्रता लिए पनि त्यसपछि लगातार तीन गोल खाएको हो ।
कर्ण लिम्बु, दिलेन लोक्ताम र योगेश गुरुङले झापालाई गोल दिलाएका हुन् । झापाले भने दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । पहिलोपटक ‘होम एन्ड अवे’को आधारमा सन्चालन भइरहेको प्रतियोगितामा ‘ए’ डिभिजनका ५ र मोफसलका ४ गरी ९ टोली सहभागी छन् । दोस्रो चरणको समाप्तिसम्म शतप्रतिशत नतिजाका साथ थ्रीस्टार क्लब शीर्ष स्थानमा रहँदा गोल अन्तरले पछाडि पर्दै मनाङ–मर्स्याङ्दी दोस्रो स्थानमा छ । पुलिस, मोरङ र कैलालीले भने अंकविहीन छन् ।
पुलिस झापा–११ सँग स्तब्ध






