सिड्नी । पहिलो नेपाली महिला रेस्लर खेलाडी भगवती खड्कालाई जनसम्पर्क समिति अस्ट्रेलियाले स्वागत तथा सम्मान गरेको छ । विभिन्न कार्यक्रम तथा भेटघाटका लागि अस्ट्रेलिया पुगेकी उनलाई मार्च ६ तारिखमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । रेस्लिङमा युनिका उपनामले चिनिने खड्काको नाम केही समय अगाडी ‘वर्ल्ड बुक अफ रेकर्डस’ लन्डनमा समावेश भएको थियो ।

नेपालमा रेस्लिङ खेल र त्यसमा पनि महिला रेस्लिङमा पुर्याएको योगदान स्वरुप जनसम्पर्क समितिका उपाध्यक्ष राजेश के.सी, ग्रानभिल एशोसियसनका अध्यक्ष भिम बस्नेत, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, सुदुर पश्चिम समाजका राकेश जोशी लगायतले सिड्नी स्थीत ग्रानभिल फ्लेभर अफ नेपाल नेपाली रेस्टुराँ मा खड्कालाई सम्मान गरेका हुन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्मानित हुने खड्का नेपाल महिला रेस्लिङ फाउन्डेसनकी अध्यक्ष हुन् । सोही संस्थाले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा आयोजना गरेको रेस्लिङ प्रतियोगितामा भगवती विजयी भएकी थिइन् । सोही प्रतियोगीतामा विजयी भएपश्चात भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डसमा समावेश भएको छ । खड्काले विदेशका दर्जनौँ देशमा गएर रेलिङ खेलिसकेकी छिन् । नेपालमा समेत विश्वका विभिन्न देशका चर्चित रेस्लर ल्याएर खेल गरिसकेकी छिन् ।






