नेपाल फेस्टिबल सिड्नी २०२४ ऐतिहासिक बन्दै: प्रमुख अतिथि न्यू साउथ वेल्स प्रिमियर क्रिस मिन्स

सिड्नी । नेपाल र नेपालीहरुको मौलिक पहिचान बोल्ने नेपाल फेस्टिबल सिड्नी २०२४ ऐतिहासिक बन्ने भएको छ । प्रत्येक वर्ष अस्ट्रेलियामा रहेका नेपालीहरुले आफ्नो मातृ पहिचान झल्काउने गरी गर्दै आएको फेस्टिबल यस वर्ष आगामी नोभेम्बर २३  शनिवार सिड्नीको डार्लिङ हार्बरस्थित टुम्वोलोङ पार्कमा हुँदैछ । सिड्नीको नेपाल महोत्सवलाई सबैभन्दा ठुलो नेपाली महोत्सवको रुपमा लिईन्छ । नेपाल फेस्टिबलकै ईतिहासमा यसवर्ष प्रमुख अतिथिको रुपमा न्यू साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्स सहभागी हुने भएका छन् ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग विशेष सहकार्यमा नेपालको पर्यटन पवर्द्धनको लागि गैर आवासीय नेपाली संघ एनआरएनएले महोत्सव आयोजना गरेको हो । महोत्सव विहान १० बजेबाट रातिको १० बजेसम्म चल्नेछ । कार्यक्रममा अस्ट्रेलिया स्थित विविध पर्यटन र पर्यावरण व्यवसायीहरुको स्टल, नेपाली खानाका परिकारसहित दुई दर्जनबढी छुट्टा छुट्टै खानाका स्टल एनआरएनए एनएसडब्लु राज्य समितिले जनाएको छ । कार्यक्रममा नेपाल हाउस मार्फत समग्र नेपालको भूगोल, भौगोलिक परिचय (तराई, पहाड, हिमाल) लाई प्रस्तुत गर्ने गरि नेपाल र नेपालीसँग सम्वन्धित विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थल, ऐतिहासिक स्थलको जानकारी तथा विविध भेषभुषा, कला, संस्कृति, भाषा साहित्य एवम राज्य व्यवस्थाको विभिन्न काल खण्डको परिचय र जानकारी प्रस्तुत गरिने बताईएको छ । त्यस्तै अस्ट्रेलियास्थित नेपाली व्यवसायीको विशेष व्यवसायिक स्टल र प्रदर्शनीसँगै यस पटक नेपाली हस्तकलाका उत्पादनहरूसमेत राखिने भएको छ।

कार्यक्रमको पूर्व सन्ध्यामा बिहान साढे १० बजेबाट विशेष परेड र झाँकीमार्फत नेपालको कला संस्कृती झल्काउने गरी बाजा गाजा सहित शान्ति पद यात्रा मार्फत सहर परिक्रमा गर्ने कार्यक्रम समेत रहेको छ । त्यस्तै रास्ट्रिय स्तरका कलाकारहरु सहित, द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुती रहनेछ । साथमा स्थानीय कलाकारहरूको विविध सांगीतिक कार्यक्रम सहित विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरु प्रदर्शन गरिने एनआरएनएले जनाएको छ । नेपाल र अस्ट्रेलियाको कुटनीतिक सम्वन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा अस्ट्रेलिया सरकारका प्रतिनिधि तथा राजनैतिक व्यक्तिहरुको समेत सम्बोधन रहनेछ । यस्तै नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्डको साथै क्यानवेरास्थित अस्ट्रेलियाका लागि नेपाली राजदूतावासबाट प्रतिनिधिको उपस्थिति रहने बताईएको छ । प्रवासमा आफ्नो व्यक्तिगत, पारिवारिक जीवन, अध्ययन, पेशा व्यवसाय र रोजगारीमा आबद्ध नेपालीहरुबीच एक आपसमा भातृत्व कायम गर्ने र नेपाली उत्सवका रुपमा मनाउने स्थानको रुपमा महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आयोजक  जनाइएको छ। । कार्यक्रममा ३० हजारभन्दा बढीको सहभागीता रहने र झण्डै २लाख ५० हजार डलर खर्च हुने आयोजकको अनुमान छ ।