काठमाडौँ । जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ।
अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट ए मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ।
चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ। यसबीच आइसिसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ।
तर, एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्यान्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन।
किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन्। नेपाल एसोसिएटका तर्फबाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।






