पर्यटन वोर्डमा भ्रष्टाचार : २३ जनाविरुद्ध मुद्दा दायर, ६९ करोड विगो

काठमाडौं, २० चैत। नेपाल पर्यटन वोर्डको भ्रष्टाचारमा संलग्न २३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध शुक्रबार ६९ करोड रुपैयाँ विगोसहित मुद्दा दायर गरिएको हो ।

भ्रष्टाचार मुद्दा पर्नेमा दुई जना बहालवाला सचिव र एकजना पूर्वसचिव परेका छन् । बहालवाला सचिवमा वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल र नेेपाल कानुन आयोगका सचिव रञ्जनकृष्ण अर्याल रहेका छन् । पूर्वसचिवमा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सुशील घिमिरे छन् । पौडेल र अर्याल वोर्ड सञ्चालक समितिका सदस्य थिए भने घिमिरे अध्यक्ष थिए ।

अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद शिवाकोटी र वनमन्त्रालयका सहसचिव मेघबहादुर पाण्डे विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सुवास निरौला

सुवास निरौला

कस्ले कति खाए ?

सबैभन्दा धेरै निलम्वित कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले ३३ करोड ७२ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

यसैगरी टुरिजम बोर्डका कर्पोरेट महाशाखाका निमित्त निर्देशक अनिलकुमार दासले १७ करोड ९४ लाख र निर्देशक हिक्मतसिंह ऐरले १६ करोड ५४ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

अर्का निर्देशक काशिराज भण्डारीले ३४ लाख ८४ हजार र पर्यटन वोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले २८ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अरु को-को परे ?

मुद्दा दायर भएका अन्यमा पर्यटन वोर्डका निमित्त कार्यकारी अधिकृत नन्दनीलाहे थापा, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन, वोर्डका वरिष्ठ निर्देशक आदित्य बराल, निर्देशक काशीराज भण्डारी, निमित्त निर्देशक ध्रुव राई, वरिष्ठ प्रवन्धक दिवाकर राणा तथा प्रवन्धकद्वय लक्ष्मण गौतम र लिलाबहादुर बानिया छन् ।

यसैगरी टिकाराम सापकोटा, पम्फादेवी धमला, रेवतबहादुर थापा, ध्रुव नारायण श्रेष्ठ, फुर ग्याल्जेन शेर्पा, पर्यटन व्यवसायी महेन्द्र खनाल विरुद्ध पनि मुद्दा दायर भएको छ ।

सरकारी वकील सुदर्शन लामिछाने र अनुसन्धान अधिकृत एसएसपी यादवराज खनाल नेतृत्वको टोली कागजपत्र लिएर विशेष अदालत पुगेको थियो ।

यी हुन् भ्रष्टाचार आरोपी

यसैगरी भ्रष्टाचार गरेको भनेर २९ जनालाई आरोप लागेको छ । अख्तियारले आरोपी भनेकाहरुमा उदय भट्टराई, नविन पोख्रेल, शरद प्रधान, प्रदीप पौडेल, गोविन्दराज ओली, उज्जला दली, मणिराज लामिछाने, सुनिल शर्मा छन् ।

यसैगरी विमल शर्मा कँडेल, समिर बज्राचार्य, जितेन्द्र भट्टराई, नम्रता श्रेष्ठ, सूर्य थपलिया, सुमन घिमिरे, रोहिणी प्रसाद खनाल, दीपकराज जोशी, सुदन सुवेदी, सन्तोष विक्रम थापा, लेखनाथ भुसाल, श्रद्धा श्रेष्ठ, प्रदीप बस्नेत पनि भ्रष्टाचार आरोपीको सूचीमा छन् ।

अर्चना केसी, खड्कविक्रम शाह, खेमराज तिमल्सिना, जानकी प्रसाद उपाध्याय र मदनकुमार लामिछानेलाई पनि भ्रष्टाचार आरोप लागेको छ ।