काठमाडौँ- चीनको भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभएको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको छ ।
उहाँले सो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गर्नु भएको हो ।
चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले आज कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेटघाट गरेको छ ।
उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्स्पो र २४औँ कुन्मिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभयो ।
मेलामा रहेका १०० भन्दाबढी कक्षको अवलोकनपछि उहाँले उद्घाटन वक्तव्य दिनुभएको थियो । उहाँले सो अवसरमा चीन र दक्षिण एसियाबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानका लागि एक्स्पो महत्वपूर्ण हुने बताउनुभयो ।






