काठमाडौं, २० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा समातिने भन्दै आएका बेला शुक्रवार नेपाल सरकारका बहालावाला सचिव सहित उच्च सरकारी अधिकारीहरुमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पर्यटन बोर्डको करीव ७० करोड रुपैया भ्रष्टाचार को मुद्दामा तत्कालिन कार्यकारी अधिकृत सुवास निरौलासहित बहालवाला सचिवहरुलाई दोषी ठहर गरेको छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा वन मन्त्रालयका बहालवाला सचिव शरदचन्द्र पौडेल र कानुन आयोगका सचिव रन्जनकृष्ण अर्याल परेका छन् ।
त्यस्तै अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद शिवाकोटी विरुद्ध पनि मुद्दा दायर भएको छ भने वन मन्त्रालयका सहसचिव मेघवहादुर पाण्डे रनागरिक उड्ययन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन पनि परेका छन् ।
पूर्व पर्यटन सचिव सुशील घिमिरे विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ ।अख्तियारले मुद्दा दायर लगत्तै बहालवाला सचिव, सहसचिव लगायत सरकारी अधिकारीहरुको जागिर स्वतः निलम्बन भएको छ ।
सुवास निरौला र रन्जनकृष्ण अर्याल बाहेक अरु सबै सचिव र सहसचिवहरु पर्यटन बोर्डमा पदेन सदस्य भएबापत स्वतः यो भ्रष्टाचार मुद्दामा तानिएका हुन् ।
बोर्डमा सदस्य भएकै कारण यति ठूलो भ्रष्टाचार प्रकरणम तानिएपछि कतिपय उच्च पदस्थ कर्मचारीको परिवारमा रुवाबासी चलेको छ । वन सचिव शरदचन्द्र पौडेल सम्पर्कविहीन भएको अख्तियार स्रोतले जनाएको छ ।






