बर्न्टओक नेपाली समाजले निर्वाचित सांसद अफोर्डलाई लगाए नेपाली टोपी ,

लन्डन । बर्न्टओक नेपाली समाजले निर्वाचित सांसद डा. म्याथ्यु अफोर्डलाई नेपाली टोपी लगाउदै बधाई दिएका छन् । बर्न्टओक नेपाली समुदायका अगुवाहरुले लन्डनको हेन्डन निर्वाचन क्षेत्रबाट चौथो पटक निर्वाचित सांसद डा. म्याथ्यु अफोर्डलाई बधाइ दिएका हुन् ।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै बर्न्टओक नेपाली समाजका उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष बिष्णु गुरुङले सांसद अफोर्डलाई ढाका टोपी लगाइ चौथो पटक निर्वाचित भएकोमा स्वागत तथा सफल कार्य कालको शुभ कामना व्यक्त गर्दै आगामी दिनमा बर्न्टओक समाज र सांसद डाअफोर्ड वीचको सम्वन्ध अझ वढी प्रगाढ हुने विश्वास व्यक्त गरे ।

सांसद अफोर्डलाई बधाई दिंदै बार्नेट बरोका उपमेयर लक्ष गुरुङले विगतमा आफूले गरेका वाचा पुरा गर्दै आएकोमा सांसद अफोर्डको प्रशंसा गरे । उनले भूतपूर्व गोर्खा सैनिकहरु लगायत नेपाली समुदायको हितमा आवाज उठाएकोमा सांसद अफोर्डलाई धन्यवाद पनि दिए ।

सो अवसरमा सांसद अफोर्डले आफ्ना समर्थक तथा मतदाताहरुलाई धन्यवाद दिएका थिए । उनले आफू यसअघि भन्दा पनि अरु बढी सक्रिय हुने तथा हेन्डनका हरेक नागरिकसम्म पुग्न प्रयास गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा स्कुल, अस्पतालहरूमा लगानी बढाउन तथा साना व्यवसायलाई सघाउन प्रयास गरि नै रहने पनि बताए ।

कार्यक्रममा तमुधि लन्डन इकाई आमा समूहकी अध्यक्ष दिलमाया गुरुङले नव निर्वाचित सांसद अफोर्डलाई सफल कार्य कालको शुभ कामना व्यक्त गरेकी थिइन्।

यस अघि गत शनिवार बसेको बर्न्टओक नेपाली समाजको वार्षिक साधारण सभाले कोषाध्यक्ष नवीन गुरुङ तथा महासचिव भोला पनेरुले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्‍यो ।

कार्यक्रममा आमा समूहकी पार्वती गुरुङले समूहको प्रतिवेदन प्रस्तुत गरिन् । नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले केन्द्रले गएको तीन वर्षदेखि नेपाली बालबालिकाहरुका लागि नेपाली कक्षा सञ्चालन गरिरहेको जनाए । उनले कक्षा निशुल्क रुपमा सञ्चालन भैरहेको जनाउंदै आफ्ना नानीहरुलाई नेपाली कक्षामा पठाउन सबै अभिभावकलाई अनुरोध पनि गरे ।

बार्नेट बरोका उपमेयर लक्ष गुरुङले नेपाली समुदायलाई बार्नेटमा रहेका अरु संघसंस्थासंग सहकार्य गरेर काम गर्न सुझाव दिएका थिए । सभा समाजका उपाध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा बसेको थियो । उक्त कार्यक्रममा बर्न्टओक नेपाली समाजका पदाधिकारी तथा कार्य समितिका सदस्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *