सिडनी । सामान्य घर झगडामा ज्यान गुमाएका सन्तोष गौतमको शब नेपाल पठाइएको छ । रुपन्देही मद्राणीका गौतमलाई पत्नी नुमा गौतमले धारिलो हतियारले प्रहार गर्दा गत मंगलबार उनको ज्यान गएको थियो ।
अटो मोबाइल पढेर ग्रानभिलमा आफ्नै ग्यारेज सञ्चालन गर्दै आएका गौतम दम्पतीको ७ वर्षीया छोरीसमेत छन् । नुमालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने गौतमको शव गैरआवासीय नेपाली संघलगायत विभिन्न सामाजिक संस्थाको पहलमा नेपाल पठाइएको छ ।
एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङले दिएको जानकारीअनुसार शब नेपाल पठाउन एनआरएन अस्ट्रेलियाको संयोजनकत्वमा रुपन्देही समाज अस्ट्रेलिया, नेपाल क्रिकेट संघ अस्ट्रेलिया र ग्रानभिल नेपाली समाजले आर्थिक सहयोग उपलब्ध गराएको छ । गौतमको नाममा उठेको रकम शब पठाएर उब्रेको रकम छोरीको शिक्षाका लागि खर्च गरिने छ ।
सन्तोषको शब गत मंगलबार बरउडमा राखिएको थियो । शब राखिएको गृहमा नेपाली समुदायले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरियो । उक्त श्रद्धाञ्जलि कार्यक्रममा एनआरएनका पदाधिकारी, स्थानीय क्रिकेट खेलाडी, र नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो ।






