चलचित्र संघ यूकेको नेतृत्व महिलाको हातमा, अध्यक्ष बनिन् रोमियन लिम्बु :अरु को–को निर्वाचित भए ?

लन्डन । नेपाल चलचित्र कलाकार संघ यूकेको प्रथम अधिबेशन सम्पन्न भएको छ।  नेपाल चलचित्र कलाकार संघयूकेको अध्यक्षमा रोमियन लिम्बु केशी निर्वाचित भएकी छिन्।

अधिबेशनबाट तदर्थ समितिकै धेरैजसो सदस्यहरु सहितको नयाँ पूर्ण कार्यसमिति बनेको छ । रोमियन लिम्बु केशी अध्यक्ष रहेको १२-सदस्यीय कार्यसमितिमा धु्रव दत्त र सुरेशराज पाठक उपाध्यक्षमा, रितेश चाम्स महासचिबमा, सृजना निङलेखू सचिबमा, इन्दू लिम्बू कोषाध्यक्षमा र सन्तकुमार राई सहकोषाध्यक्षमा चयन भएका छन् ।त्यस्तैगरी सदस्यहरुमा क्षमता ढकाल, गोविन्द अर्मजा, दीपक मैथाने मगर, अनामिका तमू र प्रतिमा दुद्राज चयन भएका छन् ।

नेपाली चलचित्र र चलचित्रकर्मीहरुको विकास, संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले बत्तीस बर्षअघि स्थापित फानको बेलायत शाखा यसै बर्ष स्थापना भएको हो ।

बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपालबाट आएका नेपाली चलचित्रका स्थापित वरिष्ठ कलाकारहरु पनि उपस्थित थिए । नेपाल चलचित्र कलाकार संघका (फान) वर्तमान अध्यक्ष रविन्द्रखड्का ,फानकी संस्थापक सदस्य वरिष्ठ कलाकार मीरा राणा र पूर्व उपाध्यक्ष तथा कलाकार धिरेन शाक्यको विशेष अतिथि रहेको थियो ।

फान यूकेका अध्यक्ष श्रीमती रोमियन लिम्बु केसीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, इनास, मोना, बडीबिल्डिङ एसोसियसन यूके लगायत बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । एनआरएनए यूके अध्यक्ष पूनम गुरुङ,समाजसेवी नरकुमारी लिम्बु, वरिष्ठ अभिनेता धिरेन शाक्य, बार्नेट काउन्सिलका उपमेयर लक्षबहादुर गुरुङ, रशमूर काउन्सिल डेभिड क्लिप्फोर्डले शुमभकामना मन्तब्य दिए । कार्यक्रममा मीरा राणा, सपन राई र अन्य कलाकारहरुले आ–आफ्ना गीतहरु गाएर मनोरञ्जन दिलाए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै राजदूत डा. दुर्गा बहादुर सुबेदीले चलचित्र कलाकार संघको माध्यमद्धारा बेलायतमा पनि एकपछि अर्को राम्रा र मौलिक नेपाली चलचित्रहरु बन्दैजाने र बेलायतका नेपाली जीवनलाई अरु मर्यादित बनाउँदै नेपालीपनको आभाष दिलाउनेछ भन्ने आफुले विस्वास लिएको बताए ।

कार्यक्रमको बिशेष अतिथिको रुपमा बोल्दै  केन्द्रीय अध्यक्ष तथा अभिनेता रविन्द्र खड्काले भने, “नेपाली चलचित्रलाई संसारभर फैलाउन, लोकप्रिय बनाउन र नेपालीहरुबीच अन्तरघुलन गराउनका लागि नेपाली हुँ भन्नेहरुले नेपाली चलचित्र हेर्नैपर्ने हुन्छ, नेपाली कला र संगीतलाई हेर्न र सुन्नै पर्ने हुन्छ ।”

कार्यक्रममा अध्यक्ष खड्काले डा. दुर्गाबहादुर सुबेदीलाई नेपाली राजदूतको रुपमा विदेशमा नेपाली कला र कलाकारहरुको विकास, संरक्षण र प्रवर्द्धनका लागि योगदान पुर्याए बापत नेपाली चलचित्र कलाकार संघको मानार्थ सदस्यता प्रदान गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *