बेलायतबाट पोखराका विद्यार्थीलाई क्रिकेट सिकाउन गरियो यस्तो रचनात्मक कार्य

लण्डन । बेलायतको एउटा अग्रणी क्रिकेट क्लबद्वारा स्थापित फाउन्डेशन तथा बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अन्तर्राष्ट्रिय कल्याणकारी संस्थाले नेपालमा लोकप्रिय खेल क्रिकेटको माध्यमबाट गरीब समुदायका बालबालिकालाई लाभ पुरयाउने उद्देश्यले एउटा परियोजना शुरु गरेका छन्

बेलायतस्थित मार्लीबोन क्रिकेट क्लब फाउन्डेशन तथा ब्रिटिश कल्याणकारी संस्था किडाशाले क्रिकेट खेलको माध्यमबाट गरीब समुदायका बालबालिकाहरुलाई लाभ पुराउने उद्देश्यले नेपालमा एउटा परियोजना शुरु गरेका हुन् ।

“ब्रेकिङ्ग बाउन्डरिज़” नाम दिइएको उक्त परियोजनाले गरीब समुदायका बालबालिकासम्म सामाजिक तथा आर्थिक फाइदा पुराउने लक्ष लिएको छ । मार्लीबोन क्रिकेट क्लब फाउन्डेशनले यस अघि आउंदो तीन वर्ष सम्म नेपालमा क्रिकेटको विकासमा सघाउने प्रतिवद्धता जनाएको थियो।

बेलायतबाट आएको एमसीसीको टोलीको उपस्थितिमा सोमबार मालेपाटन, पोखरास्थित श्री बाराही माध्यमिक विद्यालयमा सो परियोजनाको औपचारिक शुरुवात गरियो । सो कार्यक्रममा पोखरा महानगरका मेयर मान बहादुर जीसी तथा एमसीसी फाउन्डेशनका निर्देशक अबि कार्टरले संयुक्त रुपमा क्रिकेट अभ्यास पिचको समुद्घाटन गरे।
उक्त परियोजना अन्तर्गत पोखराका पांचओटा सामुदायिक विद्यालयहरुमा प्रशिक्षण नेटहरु तयार गरिने छ, स्थानीय कोच तथा शिक्षकहरुलाई प्रशिक्षण दिइने छ , बालबालिकाहरुलाई खेल सामग्री तथा प्रशिक्षण दिइने छ र छात्र तथा छात्रा दुवैका लागि नयाँ स्कुल लिग प्रतियोगिता शुरु गरिने छ।

“यो परियोजनाले युवा छात्र तथा छात्रालाई क्रिक्रेट खेल्न मात्रै हैन, उनीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्तीको माध्यमबाट अनुशासन, टिम वर्क, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्न सघाउ पुग्ने छ भन्ने हामीले विश्वास लिएका छौं,” किडाशाकी प्रमुख कार्यकारी जेनिश मिलरले भनिन् ।
बाल कल्याण योजना नेपालका अध्यक्ष गोविन्द राज पहारी, श्री बाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक शिव भण्डारी लगायतका वक्ताले नयां परियोजनाबाट बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

शुरुमा उक्त परियोजना जुन २०२० सम्म संचालन हुने र त्यसको सफलताको आधारमा थप दुइ वर्ष संचालन गरिने लक्ष लिइएको छ ।
किडाशाले गएको २० वर्ष भन्दा बढी समयदेखि नेपालको शहरी क्षेत्रमा अत्यधिक गरीबीमा बांची रहेका बालबालिकाहरुको हितका लागि काम गरिरहेको छ । उक्त संस्थाले सडक बालबालिकाहरुलाई आवास तथा पुनर्स्थापन सेवा पुराउनुका साथै विद्यालय जान नपाएका बालबालिकाहरुलाई औपचारिक तथा अनौपचारिक शिक्षाको पनि प्रबन्ध मिलाएको छ ।
गत पांच वर्षमा सो संस्थाले २,२०० बालबालिकालाई तिनको पठनपाठनमा सघाएको, २५०० भन्दा बढी किशोर किशोरीलाई जीवनोपयोगी सीप तथा स्वास्थ्य शिक्षा प्रदान गरेको तथा झन्डै १,००० बालबालिकालाई जोखिमयुक्त श्रम तथा शोषणबाट मुक्त गराएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *