काठमाडौं । भारतले नेपाली भूमिलाई समावेश गरी नयाँ नक्सा जारी गरेको विरोधमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले लैनचौरस्थित भारतीय दूतावासअगाडि धर्ना दिएको छ । शुक्रबार तत्काल नयाँ नक्सा खारेज गर्नुपर्ने माग राख्दै विद्यार्थीहरुले धर्ना दिएका हुन् ।
धर्नामा सहभागीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएको ‘प्लेकार्ड’सहित ‘गो ब्याक इन्डिया’को नारा लगाएका थिए । अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले भारतीय सेनाले नेपाली भूमि कालापानी नछाडेसम्म आन्दोलन जारी रहने बताए । उनले नेपाल र भारतबीचको सीमा विवादलाई जतिसक्दो चाँडो कूटनीतिक पहलबाटै समाधान खोजिनुपर्नेमा जोड दिए ।
ग्रेटर नेपालको धर्ना
शुक्रबारै ग्रेटर नेपालले पनि भारतीय दूतावासअगाडि धर्ना दिएको छ । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले भारतले नेपालको सबै अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने माग गर्दै सरकारले सीमा समस्या समाधानको समयसीमा तोकेरै अगाडि बढ्नुपर्ने बताए ।






