फेरि प्रशारण हुँदैछ अवरुद्ध जिरे खुर्सानी र भद्रगोल

काठमाडौं, चैत १५– झण्डै ५ साता यता प्रशारण रोकिएको दुई चर्चित हास्यश्रृङ्खला जिरे खुर्सानी र भद्रगोल पुनः प्रशारणको तयारी थालिएको छ । मिडिया हवका निर्देशक सोम धितालले आफ्नो कम्पनीले दुबै हास्यश्रृंखला चलाउनका लागि नेपाल टेलिभिजनमा टेन्डर पारेको जानकारी दिँदै अर्को चैत २७ गते भद्रगोल र चैत चैत ३० गते जिरे खुर्सानी प्रशारण गराउने गरी तयारी थालिएको बताए । ‘अब भद्रगोल र जिरे खुर्सानी प्रशारण हुने भयो, त्यसका लागि हामीले तयारी थालिसकेका छौं’, धितालले भने, ‘ चैत २७ गते भद्रगोल र ३० गते जिरे खुर्सानी प्रशारण हुन्छ ।’

उनले कुनै कारणबस प्राविधिक कुरा नमिलेको खण्डमा भने तोएिको समयभन्दा एक साता दुबै कार्यक्रमको प्रशारण पर सर्न सक्ने पनि स्पष्ट पारे । धितालले जिरे खुर्सानी २१७७७७ र भद्रगोल १८७७०० रुपयाँमा डिलिङ भएको समेत बताए । जिरे खुर्सानी र भद्रगोलको श्रृखंलाहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड बढी धितो रकम नक्कली ठहरिएपछि प्रसारण अबरुद्ध भएको थियो । मिडिया अबले भद्रगोल र जिरेखुर्सानीको टेन्डर पारेसँगै नेपाल टेलिभिजनबाट प्रशारण हुने तितोसत्य र मेरी बास्सैसहित ४ ओटै श्रृंखलाको प्रशारण अधिकार पाएको छ । यसैबीच भद्रगोल र जिरेखुर्सानी टीमले श्रृंखला फेरि प्रशारण हुने भएपछि आफूहरु उत्साहित भएको बताएका छन् ।