शिव भण्डारी
लन्डन ।
गैरआवासीय नेपाली संघ यूके र नेपाल पत्रकार महासंघ युकेको संयुक्त आयोजानमा ३१ मे लन्डनमा हुने च्यारिटी कार्यक्रमको तयारी समितिको बैठक सम्पन्न भएको छ । आइतवार ग्रीनफोर्डस्थित ब्लुअर्किड रेष्टुरेन्टमा भएको बैठकमा नेपाल पत्रकार महासंघ यूके आवद्ध पत्रकार र गैरआवासीय नेपाली संघ युकेका पूर्व तथा वर्तमान पदाधिकारीलगायतको उपस्थिति थियो ।
बैठकमा एनआरएन युके संरक्षक कुल आचार्यले पत्रकार कल्याणकारी कोष स्थापना र त्यसको सञ्चालनबारे प्रष्ट भएर आगाडि बढ्न सुझाव दिए । उनले आफ्नो कार्यकालदेखि नै पत्रकारसँग सहकार्य गरेर अगाडी बढ्ने कामको सुरुवात भएको भएको स्मरण गर्दै आगामी कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न पूर्ण सहयोग गर्ने बताए । गैरआवासीय नेपाली संघ यूकेका पूर्वमहासचिव रामशरण सिम्खडाले यसअघि च्यारिटी कार्यक्रम गर्दा आपूmले प्राप्त गरेका अनुभव बैठकमा राखे । एनआरएन युकेका उपाध्यक्ष कृष्ण तिमल्सिनाले पत्रकार कल्याणकारी अक्षय कोषका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने बताउदै कार्यक्रमलाई पूर्ण रुपमा व्यवस्थित बनाएर अगाडी बढाउन सुझाव दिए ।
बैठकमा च्यारिटी कार्यक्रम तयारी समितिका संयोजक फडिन्द्र भट्टराईले हालसम्म भएका गतिविधि संक्षिप्त रुपमा प्रस्तुत गरे । बैठकमा एनआरएन युकेका सचिव डासु पाण्डेले एनआरएन र पत्रकार महासंघको सहकार्यमा स्थापना हुन लागेको कल्याणकारी कोषको सञ्चालनको विधि र प्रकृयाको दुवै संस्थाबीच छलफल गरेर निर्माण हुनुपर्ने बताए ।
बैठकमा नेपाल पत्रकार महासंघ यूके अध्यक्ष चिरन शर्माले अब स्थापना हुने अक्षयकोष विशुद्ध पत्रकारको हितमा प्रयोग हुने बताउँदै गैरआवासीय नेपाली संघ युकेसँगको सहकार्यले दुवै संस्थाको सम्बन्धमा नयाँ उचाई थप्ने बताउदै च्यारिटी कार्यक्रममा सबै पक्षको सहयोग रहने अपेक्षा गरे । कार्यक्रममा पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष नरेश खपाँगी, नवीन पोखरेल, बाचस्पति रेग्मी, शिव भण्डारी, ध्रुव अर्याल, उमेश निरौला, रन्जित बस्नेत, केशब भण्डारीलगायतको उपस्थिति थियो ।






