नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज

काठमाडौं । संघको राजधानी काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज शिलान्यास गरिने भएको छ । सडक विभागका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यास गर्नुहुनेछ ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायत सहभागि हुने बताइएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा सुरुङमार्गको निर्माण हुन लागेको हो ।

करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्नेछ भने छ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ । प्रवेश मार्गसहित ५ दशमलव ५–६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । यो सुरुङमार्ग निर्माणसँगै नागढुंगा नौबिसेमा देखिएको सवारी जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *