लाल केसी, अध्यक्षएनआरएनए न्यूजिल्यान्ड
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनको माहोलले यतिबेला काठमाडौं तातेको छ । प्रवाशमा रहेका नेपालीहरुको साझा संस्था एनआरएनएको नेतृत्व कसले लिने भन्ने बहस यतिबेला पेचिलो बनेको हो । यो विश्व सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि आइरहेका छन् । यी प्रतिनिधिले नेतृत्व छनोट गर्ने छन् । यसै सन्दर्भमा एनआरएन न्युजिल्यान्डका अध्यक्ष लाल केसीसँग हाम्रा अस्ट्रेलिया प्रतिनिधि तक्दीर अधिकारीले गरेको कुराकानी–
० एनआरएनए न्यूजिल्यान्डलाई अस्ट्रेलियाले ओझेलमा पारेको हो ?
– एनआरएनए के हो भन्ने विषयमा हाम्रा अग्रजहरुले बुझाउन नसकेको पनि हो न्यूजिल्यान्डमा । एनआरएनप्रति न्यूजिल्यान्डमा त्यत्ति चासो बढेको छैन । ओसियाना क्षेत्रमा अस्ट्रेलियाले आरसी र डिआरसी लिँदा एक्लौटी गरिरहेको छ । अस्ट्रेलियाले आरसी र न्युजिल्यान्डलाई डिआरसी दिएको भए धेरै राम्रो हुन्थ्यो । अस्ट्रेलियाले न्यूजिल्यान्डलाई एक्सपोज हुन नदिएकै हो ।
० एनआरएन न्युजिल्याण्ड नै सक्रिय देखिएन कि ?
– एनआरएन अस्ट्रेलिया र न्युजिल्यान्डमा सर्वसम्मत नेतृत्व छनोट हुँदै आएको थियो । गतवर्ष अस्ट्रेलियामा र यस वर्ष न्यूजिल्याण्डमा निर्वाचन प्रकृयाबाट नेतृत्व छनोट भएको हो । ओसियाना क्षेत्रको सबै पदमा अस्ट्रेलियाबाटै जाने भएकाले न्युजिल्यान्डले त्यत्ति चासो देखाएको पक्कै हो ।
० अहिले कस्तो छ ?
–एनआरएनप्रति अहिले न्युजिल्यान्डमा चासो बढेको छ । अहिले २ हजार सदस्य पुगिसकेका छन् । यसअघि एनआरएन केही गतिविधि सीमित हुन्थ्यो ।
० अहिले के परिवर्तन ल्याउनुभयो ?
–मेरो चुनावी क्याम्पेनले न्यूजिल्यान्डमा एनआरएन के हो भन्ने कुरा सबै तह र तप्कामा पुगेको छ । ९ सयबाट हामीले २ हजार सदस्यता बनाएका छौं । यसलाई उपलब्धी ठान्नुपर्छ ।
० चुनावी प्रतिस्पर्धामा अर्को पक्षले पनि त्यत्ति नै सदस्य बनाएको होइन र ?
– अर्को पक्ष जसलाई संस्थापन भनिएको थियो, उनीहरुले विगत १४ वर्षदेखि २ सय सदस्यमा सीमित थिए । सन् २०१७ मा हामीले गतिविधि बढायौं त्यसपछि ९ सय सदस्यता पुग्यो । अहिले २ हजार पुग्यो, अर्थात् सदस्यता बढ्ने क्रमजारी छ । न्यूजिल्याण्डमा नेपाली झन्डै १८ हजार पुगिसकेका छन् । सदस्यता बढ्नुको अर्थ एनआरएप्रति चासो बढ्नु हो, यो सकरात्मक पक्ष हो । यस पटकदेखि स्थानीय नेपाली संघसंस्थासँग एनआरएनले सहकार्य गर्न थालेको छ ।
० न्युजिल्यान्डबाट आईसीसीमा उम्मेदवारी पर्छ ?
– क्षेत्रीय संयोजकमा एकजना साथी लोकनाथ पौडेलले उम्मेदवारी दिनु हुनेछ । न्यूजिल्याण्डले क्षेत्रीय संयोजक जित्ने सम्भावना छ ।
० यो विश्व सम्मेलनले पदाधिकारीमा न्युजिल्याण्डलाई समेट्छ ?
– यो विश्व सम्मेलनले हाइफाइलाई मात्र समेट्दैन होला । विशेष गरी ज्ञान हस्तान्तरण गर्ने विषयमा न्यूजिल्याण्डले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ, यस्ता कुरामा यो विश्व सम्मेलनको ध्यान पुग्छ होला । सामाजिक संघसंस्थाले आपत्तविपत्तमा पैसा उठाएर सहयोग गरेकै छन् । भौतिक सहयोगमा मात्र सीमित नभएर ज्ञान हस्तान्तरण नेपाललाई कसरी गर्न सकिन्छ भन्ने विषयमा न्यूजिल्याण्डले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
न्युजिल्याण्ड र नेपाल दुवै कृषिप्रधान देश हुन् । कृषिको क्षेत्रमा ज्ञान हस्तान्तरणको जिम्मा न्युजिल्याण्डले लिनुपर्छ भन्ने एनआरएनको भनाइ छ । हामीले यससम्बन्धी जुलाईमा सम्मेलन गर्ने तयारी गरिरहेका छौं, हेरौं आईसीसीले यसलाई कसरी लिन्छ । कृषि क्षेत्रमा न्युजिल्यान्डबाट नेपालले धेरै सिक्न सक्छ ।
० केन्द्रीय नेतृत्व सहमतिमा चयन हुन्छ ?
– यो सामाजिक संगठन हो, त्यसैले सहमतिमै नेतृत्व छनोट गर्दा राम्रो देखिन्छ । यसले सन्देश पनि राम्रो दिन्छ । नेतृत्व छनोट गर्दा राजनीतिक गन्ध आउनु हुँदैन भनेर हामीले एनसीसीमा समावेशी टिम लिएर चुनाव लड्यो । आइसीसीको नेतृत्वका लागि धेरै राजनीतिकरण भयो भन्ने सुनिन्छ । यो दुखद् हो । सहमतिमा नेतृत्व होस् भन्ने हाम्रो चाहना हो ।
० सहमति भएन भने ?
– सहमति भए राम्रो, यदि भएन भने यो वा त्यो भनेर व्यक्तिको पछाडि लागिदैन, उम्मेदवारको एजेन्डा हेरिन्छ ।
० अन्त्यमा केही भन्नुहुन्छ ?
– जसले अग्रगामी सोच लिएर आउँछ, त्यो एनआरएनएको नेतृत्वमा आउनुपर्छ । पूर्वअध्यक्ष शेष घलेले ल्याएको भिजन २०–२० मा धेरै कुरा समेटिएको छ । सानातिना कुरामा एनआरएन धेरै अल्झियो, अब भिजन क्लियर छ । यो क्लियर भिजन लिएर एनआरएन नेतृत्व अघि बढ्नुपर्छ भन्ने हाम्रो चाहना हो ।






