लन्डन । लन्डनमा दशैंको टिका लगाउने साइत मंगलबार बिहान १० बजेर १५ मिनेट जाँदा पूर्व फर्केर लगाउँदा उत्तम देखिएको छ । पशुपतिनाथ मन्दिर यूकेका मूल पूजारी नीलहरि घिमिरेका अनुसार विजयी दशमी ८ अक्टोबर मंगलबार बिहान ८ देखि ११ बजेसम्म टिका जमरा लगाउन सकिन्छ, तर टिकाको मूल साइत भने १० बजेर १५ मिनेटलाई उत्तम मानिएको छ । टिका जमरा ग्रहण गर्नका लागि मन्दिर साँझ ५ बजेसम्म खुला रहने पशुपतिनाथ मन्दिरले जारी गरेको नवरात्री कार्यक्रममा उल्लेख छ ।

महानवमी ७ अक्टुबर सोमबार बिहान ९ देखि ११ बजेसम्म चण्डिपाठ, दुर्गा पुजा, बेलुका ४ देखि ८ बजेसम्म कन्याकुमारी पुजा, भजन, कीर्तन, फूलप्रसाद वितरण र आरती गरिने पन्डित निलहरि घिमिरे ले बताएका छन् ।
यस्तै महाअष्टमी ६ अक्टुबर आइतबार बिहान ५ देखि ७ पाशुपतसिद्ध महायोग ध्यान, ९ देखि ११ बजेसम्म चण्डीपाठ, दुर्गापुजा, साँझ ४ देखि ७ बजेसम्म कालरात्रि पुजा, अष्त्र पुजा, भजन, कीर्तन, फूलप्रसाद वितरण र आरती गरिएको थियो ।
सप्तमी (फूलपाती) ५ अक्टुबर शनिवार बिहान ५ देखि ७ पाशुपत सिद्ध महायोग ध्यान, ९ देखि ११ बजेसम्म चण्डीपाठ, दुर्गा पुजा, साँझ ४ देखि ७ बजेसम्म भव्यताका साथ फूलपाती भित्र्याइएको थियो । त्यसपछि भजन, कीर्तन, फूलप्रसाद वितरण र आरती गरेर सम्पन्न गरिएको थियो ।







