तक्दीर अधिकारी
सिड्नी । आउँदो सेप्टेम्बर २८ तारिख शनिबार सिड्नीको मोर्टेलमा प्रथम वारिवार तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । वरिवार तेक्वान्दोले आयोजना गरेको प्रतियोगितामा ५ देखि १६ वर्ष उमेर समूहबीच क्यूरुगी र पुम्पे गराइने मुख्य प्रशिक्षक प्रकाश क्षेत्रीले जानकारी दिए ।
सन् १९९६ बाट राष्ट्रिय तेक्वान्दो खेलमा सक्रिय प्रशिक्षक क्षेत्रीले कुवेतमा १० वर्षसम्म बसेर विभिन्न पदक जितेका थिए । उनले सन् २०१८ देखि अस्ट्रेलियाको सिड्नीमा सक्रिय रुपमा तेक्वान्दो प्रशिक्षण गराइरहेका छन् । सुरुका दिनमा नेपाली समुदायमा तेक्वान्दोको प्रचार प्रसार गर्न नसकिए पनि पछिल्लो समयमा तेक्वान्दोप्रति धेरैले चासो देखाएको प्रशिक्षक क्षेत्रले बताए । अहिले आफूले आशितत सफलता हासिल गरेको प्रशिक्षक क्षेत्री बताउँछन् ।

विशेष गरी हुर्कदै गरेका बालबालिकाहरुलाई तेक्वान्दोमार्फत् स्वास्थ्य र तन्दुरुस्त राख्न प्रभावकारी हुने उनको बुझाइ छ । सामान्यः शारीरिक तन्दुरुस्तका लागि तेक्वान्दो खेल महत्वपूर्ण र फलदायी हुने उनी बताउँछन् । त्यसमा पनि तेक्वान्दो सिकेका बालबालिकाहरु आफ्नो प्रतिरक्षा गर्न सक्षम हुने प्रशिक्षक क्षेत्रीले बताए ।
नियमित तेक्वान्दो प्रशिक्षणले बालबालिकाको तौल मेन्टेन सजिलो हुने, तेक्वान्दो प्रशिक्षणपछि बालबालिकामा स्वास्थ्य दिमाग हुने भएकाले पढाइमा ध्यान जाने उनी बताउँछन् । अहिले नियमित रुपमा ५ देखि १६ वर्ष उमेर समूहका ६० जना प्रशिक्षार्थीले प्रशिक्षण लिइरहेको जानकारी क्षेत्रीले दिए । बढ्दो जनसंख्या, आधुनिक र विलासी जीवनशैलीले मानिसहरुमा स्वास्थ्य समस्या चाडै देखिन थालेको छ । तर नियमित तेक्वान्दो प्रशिक्षणले स्वास्थ्य जीवन बिताउन सहयोग पुग्ने प्रशिक्षक क्षेत्रीको दाबी छ ।
आफूले प्रशिक्षण दिइरहेका प्रशिक्षार्थीहरुबीच आउँदो २८ सेप्टेम्बर मोर्टेलमा प्रतियोगिता आयोजना गर्न लागिएको प्रशिक्षक क्षेत्रीले लन्डन नेपाल न्यूजलाई जानकारी गराए । उक्त प्रतियोगितामा सिड्नीवासी नेपाली समुदायलाई उपस्थितिका लागि अनुरोध गर्दै प्रशिक्षक क्षेत्रीले कार्यक्रममा सर्वसाधारणलाई तेक्वान्दो खेलबारे जानकारीसमेत गराइने बताए ।







