चितवन, १६ चैत । स्वास्थ्यकर्मीसमेत स्वाइन फ्लुबाट प्रभावित हुन थालेपछि जिल्लामा यस रोगबाट त्रास बढेको छ । जिल्लाका अस्पतालमा आएका विरामीमध्ये स्वाइन फ्लुको आशङ्का लागेका विरामीको परीक्षण भरतपुर अस्पतालमा मात्र हुँदै आएको छ । ती विरामीको नमुना सङ्कलन र परीक्षण गर्ने काममा खटिएका एक स्वास्थ्यकर्मीसमेत स्वाइन फ्लुबाट सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले बताउनुभयो ।
सबै स्वास्थ्यकर्मी र चिकित्सकलाई विशेष सावधानीपूर्वक काम गर्न आग्रहसमेत गरिएको उहाँले बताउनुभयो । सङ्क्रमणको प्रभाव देखिएसँगै स्वास्थ्यकर्मी र चिकित्सकले माक्स लगाएर विशेष सावधानीपूर्वक काम गरिरहेका छन् ।
हालसम्म भरतपुर अस्पतालमा सङ्कलन गरी पठाइएका नमुनामध्ये १२१ जनामा स्वाइन फ्लुको सङ्क्रमण भएको पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार परीक्षण गरिएका ३५६ मध्ये १२१ जनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा एचवानएनवान सङ्क्रमण भएको पाइएको हो । चितवनका मात्र १०१ जना रहेका छन् भने नवलपरासीका १२ जना र कास्की, गोर्खा, रुपन्देही, पर्सा, तनहुँ, काभ्रे, महोत्तरी र बाराका एक-एक जना रहेका छन् । अझै ८२ वटा नमुना परीक्षणको प्रतिवेदन भने आउन बाँकी रहेको कार्यालयका कीट नियन्त्रक रामकुमार केसीले जानकारी दिनुभयो ।
जिल्लामा स्वाइन फ्लुको सङ्क्रमण दरमा कमी आएको भए पनि सङ्क्रमितको सङ्ख्या नघटेको चिकित्सकले जनाएका छन् । सङ्क्रमित तीन वर्षदेखि ६८ वर्ष उमेरसम्मका रहेका छन् ।
स्वास्थ्यकर्मीलाई पनि स्वाइन फ्लु






