लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिवार सम्पन्न निर्वाचनको मतगणनामा देखिएको तीव्र विवादका कारण स्थगित रहेको मतगणना बुधबार बिहान देखि शुरु गर्ने भनिएता पनि अझै शुरु हुन सकेको छैन।
एनआरएन युकेको संरक्षक परिषदका सदस्यहरु तथा एनआरएनए आइसीसीले तोकेका पर्यवेक्षक समेतको उपस्थितिमा मंगलबार राति बसेको बैठक कुनै निस्कर्षमा पुग्न सकेन। बैठकमा निर्वाचन समितिका सदस्य तथा विवाद सुनुवाइ एवं समाधान समितिका संयोजक रिटायर्ड लेफ्टिनेन्ट कर्णेल यम बहादुर रानाले सबै सहभागीहरु तथा अध्यक्ष पदका उम्मेदवारद्वय शेर बहादुर सुनार तथा पुनम गुरुङसंग छुट्टा छुट्टै बैठक गरेका थिए।

यस अघि सोमबार राति केन्द्रिय उपाध्यक्ष कुल आचार्यको उपस्थितिमा बसेको एनआरएन युके संरक्षक परिषदको एक बैठकले निर्वाचन समितिका सदस्य रिटायर्ड लेफ्टिनेन्ट कर्णेल यम बहादुर रानालाइ विवाद सुनुवाइ एवं समाधान समितिको संयोजक तोक्नुका साथै मतगणनाबारे उत्पन्न विवादका सम्वन्धमा दुवै पक्षलाई सहमतिमा ल्याएर बुधबार बिहान देखि मतगणना शुरु गर्ने निर्णय गरेको थियो ।
यसै बीच निर्वाचन समितिको बैठक बुधबार बेलुका बस्ने र समितिले दुवै पक्षसंग समन्वय गरी मतगणना जति सक्दो चांडो शुरु गर्न पहल गर्ने समितिका एकजना सदस्यले बताए। मतदान सकिएको ५ दिन सम्म पनि मतगणना शुरु नहुंदा एनआरएन युकेका मतदाता तथा समर्थकहरुले आक्रोश तथा निराशा व्यक्त गरेका छन् ।
युकेको विवाद सुल्झाउन अध्यक्ष भवन भट्ट आउने, केन्द्रिय चुनावको छायां युकेमा
आजसम्म मतगणना शुरु नहुदा विवादको गांठो फुकाउन केन्द्रिय अध्यक्ष भवन भट्ट आफै बेलायत आउन लागेका छन्। अहिले केहि बेर अघि एक फेसबुक स्टाटस लेख्दै एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीले अन्यौल बीच रहेको गैर आवासीय नेपाली संघ बेलायतको निर्वचनमा धांधलीको उजुरी छानबिन एवं मतगणनाको उचित निर्णय लिन गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष आदरणीय भबन भट्टलाई अनुरोध गरिएको र उहाँ आफै बेलायत आउने जानकारी आएको जनाएका छन् । “डिटेल आगमन समय तालीका निकट भविष्यमा जानाकारी गराउनेछु,” उनले लेखेका छन् ।
यस अघि स्पेन पुगेका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार कुमार पन्तले यसअघि पनि आफुले युकेको विवाद मिलाएको र आवश्यक परे युके आउन आफु तयार रहेको संकेत दिएका थिए। तर केन्द्रिय अध्यक्ष भवन भट्टले युकेमै बसोबास गर्ने केन्द्रिय उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार कुल आचार्यलाई निर्वाचन समिति तथा दुवै पक्षसंग समन्वय गरी मतगणना थाल्न निर्देशन दिएका थिए। त्यस लगत्तै सोमबार राती आचार्यले एनआरएन युके संरक्षक परिषदको बैठक बोलाए। बैठकले विवाद समाधान गर्न एनआरएनए युके निर्वाचन समितिका सदस्य रिटायर्ड लेफ्टिनेन्ट कर्णेल याम बहादुर रानाको संयोजकत्वमा एउटा समिति बनायो। मंगलबार राति बसेको सो समितिको बैठक बिना निस्कर्ष टुंगिए पछि अध्यक्ष भबन भट्ट आफै युके आउने चर्चा चलेको हो।






