लन्डन । गल्कोट समाज यूकेले आफ्नो तेस्रो वाषिकोत्सव विविध कार्यक्रमसहित बर्मिङहममा गत सोमबार सम्पन्न ग¥यो । एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य र नेपाली राजदूतावास लन्डनका द्वितीय सचिव लव सुबेदीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । मिडल्यान्ड तथा बेलायतका विभिन्न संघसंस्थासँग आबद्ध समाजसेवीको बाक्लो उपस्थिति थियो ।
समाजका उपाध्यक्ष गोविन्दराम कंडेलले स्वागत मन्तव्य तथा संस्थापक अध्यक्ष रेशमबहादुर बुढाथोकीले समाजको परिकल्पना र स्थापनाबारे प्रकाश पार्नु भएको थियो । त्यसैगरी अतिथिद्वय कुल आचार्य र लव सुबेदी दुबैले आफ्नो शुभकामना मन्तब्यमार्फत स्थापनाकालदेखि नै गल्कोट समाज युकेले गरेका गतिविधिहरु अनुकरणीय रहेको बताउनुभएको थियो ।
त्यसैगरी कार्यक्रमको अध्यक्षता गरेका समाजका अध्यक्ष राजु कंडेलले उपस्थित सबैलाई धन्यवाद दिए । अध्यक्ष कँडेलले बेलायतमा गल्कोट हाउस निर्माणका लागि गत वर्षदेखि आर्थिक अभियान सुरु गरिएको जानकारी गराउनुभयो ।

प्रतिबद्धतामध्ये १ लाख २५ हजार पाउन्ड मध्ये ४० हजार पाउन्ड युकेको बैंक खातामा आइसकेको बताउनुभयो । उक्त अभियानका लागि एनआरएन उपाध्यक्ष आचार्यले १ हजार पाउन्ड सहयोग उपलब्ध गराउनु भएको थियो । झन्डै ५ लाख पाउन्डको उक्त महत्वाकांक्षी भवन निर्माणका लागि डा. पुश्पदत्त उप्रेतीको संयोजकत्वमा बिष्णु चालिसे, धन बुढाथोकी, कृष्ण खरेल र प्रेम गैरे सम्मिलित डिपिआर निर्माण समिति गठन गरिएको छ । उक्त समितिले आफ्नो काम सुरु गरिसकेको अध्यक्ष कँडेलले जानाकारी गराउनुभयो ।
समाजका सचिव डिलाराम गौतमद्वारा संचालित उक्त औपचारिक कार्यक्रमको लगत्तै गल्कोटे किशोरीद्वय रन्जिला सहानी र रमिला सहानीले सास्कृतिक कार्यक्रम संचालन गर्नुभएको थियो । झन्डै पाँच सयको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालबाट आएका लोक दोहोरी गायक कुमार पुन र जमूना रानाको बेजोड प्रस्तुति रहेको थियो । खाना र हल ब्यबस्थापन समाजका उपाध्यक्ष तुलक रेग्मी र कोषाध्यक्ष चन्द्र साहनीले समन्वय गर्दै गल्कोटे सेफहरुले गरेका थिए । जसको नेतृत्व किसन खत्रीले गरेका थिए भने डिजे लगायतको अन्य ब्यवस्थापन अर्का उपाध्यक्ष भोजराज कंडेलले गरेका थिए ।






