बेलायतका गुल्मेलीको फेरी आयो सुख: साट्दै गुल्मेली नौमती बाजामा नाच्ने त्यो दिन !!भिडियो सहित:

शिब भण्डारी

लन्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक समर भेटघाट तथा बीबीक्यू कार्यक्रम यस वर्ष अगस्ट ४ तारिख आइतबार हुने भएको छ ।
अल्डरसटस्थित कन्नट स्कुल प्राङगणमा कार्यक्रम हुन लागेको हो । समाजले उक्त वृहत भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाउंदै बेलायत बस्ने सम्पूर्ण गुल्मेली तथा गैर गुल्मेलीमा आव्हान समेत गरेको छ ।

समाजका माहासचिव एवं कार्यक्रम संयोजक वीर बलालका अनुसार कार्यक्रममा नेपालबाटआएका राष्ट्रिय स्तरका लोकदोहोरी कलाकारद्धय प्रसाद खप्तरी मगर,सुनितामी परियार  र फिंडलेण्डबाट गुल्मेली गायक नबिन भट्टराईको लोक प्रस्तुतिसंगै युरोपमै प्रसिद्धि कमाएको गुल्मेली नौमती बाजा, गुल्मेली झ्याउरे र भजन चुट्का जस्ता प्रस्तुतिले विशेष रौनक थप्ने अपेक्षा छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको नाचगानले समेत थप मनोरञ्जन दिने सचिव मन्जु भण्डारीले जनाएकी छन् । खेलकुद तर्फ बच्चाहरुका लागि समेत विविध खेलकुद तथा मनोरञ्जनको व्यवस्था गरिनेछ ।

बार्बेक्यू तथा खानाको जिम्मेवारी यसपटक अल्डरसटकै भेटघाट रेस्टुरेन्टले लिएको छ । मध्यान्ह १२ देखि सांझ ८ बजेसम्म चल्ने खुला चौरको गुल्मेली मेलामा कार्यक्रमको औपचारिकतामा न्यूनतम समय खर्चिदै मनोरञ्जनतर्फ नै कार्यक्रम तालिकाको ध्यान आकृष्ट गरिएको जानकारी महासचिव वीर बलालले दिएका छन् ।

नेपालमा गुल्मी जिल्लामा मात्रै नभएर देशभरी नै परोपकारी कार्य गरेर नाम कमाएको बेलायतका गुल्मेलीहरुको यो संस्थाले बेलायतमा आयोजना गर्ने वार्षिक भेटघाट कार्यक्रम उपस्थिति, मनोरञ्जन तथा खानपान व्यवस्थापनको हिसाबले निकै सफल र चर्चित मानिन्छ । कार्यक्रममा १ हजार पाच सय भन्दा बढी मान्छे सहभागी हुने अपेक्षा छ ।

कार्यक्रममा वयस्कका लागि १५ पाउण्ड शुल्क तोकिएको छ भने केटाकेटीको हकमा ६ बर्ष मुनिको लागि निशुल्क र ६ देखि १२ वर्ष सम्मकाले १२ पाउण्ड तिर्ने छन् ।
समाजका अध्यक्ष टोप पल्लीले बेलायतमा बसोवास गर्ने गुल्मेली मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई गुल्मेलीहरुले आयोजना गर्ने यो विशेष मेलामा सहभागी हुन अनुरोध गरेका छन् । ‘मनोरञ्जनका हिसाबले यो एउटा छुट्टै फेमिली आउटिङ बन्न सक्छ’ अध्यक्ष पल्लिले भनेका छन् ।

यसैबीच, कार्यक्रममा सहभागी हुन बेलायतका बर्मिङघम, नोटिङघम, डर्बी ,लेस्टर,पिटरबरो,वेल्स,ग्राम्थाम ,साउथ इष्ट लन्डनसहित विभिन्न शहरबाट गुल्मेलीले कोच बुक गरेर आउने तयारी गरेको जानकारी कार्यसमितिका उपाध्यक्ष तारानाथ भण्डारीले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *