काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार (आज) जेनेभा प्रस्थान गर्नुहुने भएको छ । जेनेभामा आयोजना हुने १०६औँ ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’मा भाग लिन उहाँ आज जेनेभा जान लाग्नु भएको हो ।
राष्ट्रपति भण्डारीले विश्व शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँले विश्व शिखर बैठकमा नेपाली महिलाको राजनीति र रोजगारीको क्षेत्रमा सहभागिता तथा प्रतिनिधित्वका विषयमा प्रकाश पार्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालको राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न आमन्त्रण गरेको यो पहिलोपटक हो । नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य बनेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार असार १ गते अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले राष्ट्रपति भण्डारीसँग भेट्नुका साथै उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कनुहुनेछ ।






